Logo
Logo

सात समुन्द्र पारीको सहयोगले बल्यो चुलो


हिक्मत बम


कैलाली । सात समुन्द्र पारीको सहयोगले राहतको चामल पाएपछि कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडानम्बर–६ सोल्टाकी ६५ वर्षीया जलु भुलले हर्षका आँशु झार्दै भनिन्- अब त यो चामल चार महिनासम्मका लागि खान पुर्याउछु ।’

निःसन्तान भुल बढेसकालमा अरुको साहरामा बाँच्दै आएका छन् । बिहान बेलुकाको एक छाक खान पनि छिमेकीको आस गर्नुपर्ने उनकाे बाध्यता छ । ‘छिमेकीसँग खाना माग्दा दिक्क मान्छन् होला भनेर कति दिन त पानी पिएर मात्रै बसे,’ उनी भन्छन्, ‘भोकभोकै बस्नु पर्ने अवस्था आएका बेला राहत चामल पाउँदा भगवान नै प्रकट भए जस्तो अनुभुति भयो ।’

सरकारले काेराेना नियन्त्रण तथा राेकथामका लागि गरेकाे निषेधाज्ञाका कारण साँझ विहानको छाक टार्न समेत समस्या परेको मोहन्याल ७ कै अर्की वृद्धा विष्णा टमटा बताउँछन् ।

५८ वर्षीया विष्णा गाउँघरमा अरूकाे खेतिपातिको काममा गरिदिएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । निषेधाज्ञा भएपछि साँझ-विहानको छाक टार्न धौँ धाैँ परिरहेका बेलामा राहत पाउँदा निकै खुसी लागेको उनी बताउछन् ।

यस्तै मोहन्याल गाउँपालिका वडानम्बर ३ फलेबिसौनीका धिरेन्द्र बुढाले पनि आफूले राहत पाएकोमा खुसी व्यक्त गरे । उनले भने– ‘अब, काम पनि गर्दैनस्, खान चाहिँ सक्छस् भनेर घरपरिवारका सदस्यले बचन लगाउन सक्दैनन् ।’ धिरेन्दको दुवै आँखाका नानी छैन ।

त्यस्तै ईन्द्रा दमाईले पनि राहात पाएपछि खुसी व्यक्त गरिन् । उनले १० दिनदेखि आधा पेट खाएर बसेको उनले सुनाइन् । उनका श्रीमान मेहेरे दमाई भने मजदुरीका लागि भारत गएका छन् । निषेधाज्ञाका कारण मेहेरे उतै थुनिएका छन् । ८ जनाको परिवारलाई १० दिनसम्म पुग्ने राहत पाएपछि खुसी भएपनि त्याे सकिएपछि कसरी एक छाक टार्ने भन्ने चिन्ताले सताएकाे उनले सुनाइन् ।

युगअस्त्र दैनिकका प्रकाशक/सम्पादक वीरेन्द बहादुर रावलको पहलमा अमेरिका बस्ने व्यवसायी कृष्ण आर्चाय, भरत भुल र कोहलपुरमा बस्ने प्रशान्त आर्चायको आर्थिक सहयोगमा कैलाली जिल्लाको अति विकट गाँउपालिकाका बाढी पीडित, सुकुम्बासी, भूमिहिन र असहाय परिवारलाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको हाे ।

खाद्यान्न र स्वास्थ सामग्री गाउँपालिकाको वडा नम्बर ३, ६ र ७ का अति विपन्न परिवारलाई वितरण गरिएको युगअस्त्र दैनिकका सम्पादक रावलले जानकारी दिए । उनले एक लाख १० हजार बराबरको चामल, नुन, तेल र स्वास्थ्य सामग्रीहरू ६५ जनालाई वितरण गरको जनकारी दिए ।

वितरण कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका प्रमूख सूर्यबहादुर थापाको पनि सहभागिता रहेको थियो । सहभागी कार्यक्रममा बोल्दै प्रमूख थापाले राहात वितरणका लागि सहयोग गर्न सबैलाई धन्यवाद दिए ।

यस्तै कैलालीकै पहाडी गाउँपालिकाका थप १५ जना अति विपन्न परिवारलाई केहि दिनभित्र थप राहत प्रदान गरिने गर्नेबारे तयारी भइरहेको पत्रकार रावलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्