Logo
Logo

देउवालाई नेविसंघको सकस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउन हम्मेहम्मे परेको छ । कुन्दजराज काफ्लेलाई अध्यक्ष हुनबाट रोक्नकै लागि बिधानमा ३२ बर्षको हद लगाएका देउवाले महाधिवेशन गर्नका लागि तदर्थ समिति बनाउन खोजेका छन् । तर तदर्थ समितिमा ३२ बर्षको हद लगाउने कि नलगाउने भन्ने विवाद छ । देउवाले ३२ बर्षको उमेर हद लागू गर्ने गरी पार्टी केन्द्रीय समितिबाट बहुमतको आडमा विधान पारित गरिसकेका छन् । उनका अगाडि विधान अनुसार ३२ बर्षभित्रैकालाई अध्यक्ष बनाउनुपर्ने चुनौती छ । ३२ बर्ष उमेर हद लागू गर्ने हो भने अध्यक्षमा कैलालीका प्रेम जोशी र रुपन्देहीका प्रकाश घिमिरेलाई बनाउने पक्षमा छन् । जोशी हालका सहमहामन्त्री हुन् भने घिमिरिे पूर्व सहमहामन्त्री हुन् । जोशीमाथि कैलाली ५ मा आरजु देउवालाई चुनाव हराउन अन्तर्घात गरेको आरोप छ ।

यद्यपि नेविसंघ हेर्ने निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महत जोशीलाई बनाउने पक्षमा छन् । बालकृष्ण खाँडहरु घिमिरेको पक्षमा छन् । ३२ बर्ष उमेर हद नलगाई ५० बर्षको हाराहारीमा पुगेका राजीव ढुंगानालाई बनाउने पक्षमा पनि देउवा लागेका छन् । ढुंगाना सुनसरीका महासमिति सदस्य हुन् । उनी २०४६ मा सुनसरी नेविसंघका जिल्ला सदस्य थिए । अहिले ३० बर्षसम्म पनि उनी नेविसघको अध्यक्षका रुपमा देउवाको सूचीमा परेका छन् । उनी २०२९ मा जन्मेका हुन् । नेविसंघका उपाध्यक्षसम्म भएका ढुंगाना १० बर्षदेखि विद्यार्थी राजनीतिमा छैनन् । त्यसो त ४० को नेटो काट्न लागेका सल्यानका ऋषिकेशजंग शाहले पनि नेविसंघको अध्यक्ष दाबी गरेका छन् ।

३२ बर्ष हद महाधिवेशनपछि मात्र लागू गर्न माग गर्दै शाह अध्यक्ष बनाइपाउँ भनी देउवा निवासमा विन्ती हाल्न आइतबार लबलसहित गएका छन् । शाह नेविसंघका पूर्व उपाध्यक्ष हुन् । उनी अमेरिका र जापान पठाइदिने भनी ठगी गरेको आरोपमा तीन बर्षअघि पक्राउ परी छुटेका थिए । अध्यक्षको दाबी गर्नेमा रामचन्द्र पौडेल पक्षबाट पूर्वमहामन्त्री मनोजमणि आचार्य, उपाध्यक्ष उर्मिला थपलिया, निलकन्ठ रिजाल लगायत छन् । कृष्ण सिटौला र गगन थापा पक्षका कुन्दनराज काफ्ले महाधिवेशनबाटै अध्यक्ष हुन सक्ने बलिया दाबेदार भएकाले उनलाई आउन नदिन ३२ बर्षको हद लगाइसकेको छ । सिटौला पक्षका उपाध्यक्ष रामप्रसाद अधिकारी पनि अध्यक्षका दाबेदार हुन् । उनी हालका उपाध्यक्ष हुन् ।

३२ बर्ष हदको विवाद धेरै निस्किए महाधिवेशन गर्न पार्टीकै कुनै नेतालाई जिम्मा दिने बाटो अंगिकार गर्ने उपाय पनि देउवा समूहको छ । यसअघि एकपटक महिला संघमा त्यस्तै विवाद भएपछि पार्टीले नै महाधिवेशन गराएको नजीरका आधारमा नेविसंघमा पनि त्यसै गर्नुपर्ने सुझाव देउवा निकट नेताहरुले दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्