Logo
Logo
प्रदेश सभा

संकटमा गण्डकीका मुख्यमन्त्री, विपक्षी गठबन्धनलाई साथ दिने मनाङेको संकेत


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशमा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री गुरूङले विश्वासको मत लिने पूर्वसन्ध्यामा स्वतन्त्र सांसदसमेत रहेका गण्डकी प्रदेशका खेलकूद मन्त्री राजीव गुरूङ (दीपक मनाङे)ले विपक्षी गठबन्धनलाई साथ दिने संकेत गरेका छन् ।

गण्डकीमा एमालेको वहुमत नरहेको र सरकारमै सहभागी स्वतन्त्र सांसद दिपक मनाङे अन्तिम समयमा गुरुङको पक्षमा नउभिएपछि सरकार संकटमा परेको छ । उनले बहुमत पुर्‍याउनेलाई आफूले साथ दिने बताएका छन् ।

उनले प्रदेश सभामा बहुमत जता पुग्छ उतै आफ्नो साथ रहने बताएका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ चाहिन्छ । नेपाली कांग्रेसलगायत विपक्षी दललाई बहुमत पुर्‍याउन १ सांसद आवश्यक छ । गुरूङले साथ दिने भएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीका पक्षमा बहुमत जुट्ने सम्भावना बढेको हो ।

मन्त्री गुरूङले आफ्नो साथ बहुमत पुर्‍याउनेका पक्षमा रहने नेकपा एमालेका सांसदहरू महेन्द्र थकाली र इन्द्रधारा विष्टसँग भनेका थिए। बुधबार नै उनले उक्त कुरा भनेका हुन् ।

मुख्यमन्त्री गुरूङका पक्षमा एमालेका २७ सांसद छन् । मनाङेले बहुमत पुग्ने अवस्था देखिए अहिलेकै सरकारलाई समर्थन जनाउने समेत बताएको एक सांससदले भने । ‘उहाँले पहिलो प्राथमिकता त यही सकारलाई दिने भन्नुभएको छ’, उनले भने, ‘उहाँको निजी कुरा हो, अरु त केही थाहा भएन।’

गण्डकीमा एमालेका २७ जना सांसद छन् भने कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका ३ जना, जनता समाजवादी पार्टी (जसपा)का २ जना र स्वतन्त्र दिपक मनाङे छन् । विपक्षी गठबन्धनसँग अहिले ३० संख्या छ । मनाङेले साथ दिएमा गुरुङ सरकार ढल्नेछ ।

प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मध्याह्न १२ बजेको लागि बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए ।

संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्