कोरोना संक्रमितमा तनावको समस्या « Drishti News – Nepalese News Portal
Logo

कोरोना संक्रमितमा तनावको समस्या


दृष्टि संवाददाता



काठमाडौं । “अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ । कसैसँग बोल्न मन लाग्दैन । रुन मन लाग्छ । एक्लै बस्दा कसैले मार्न आएको जस्तो लाग्छ” कोरोना सङ्क्रमणबाट भर्खरै मुक्त हुनुभएकी भक्तपुरकी ५५ वर्षीया एक महिलाको यो भनाइ हो । सङ्क्रमित भएर एकान्तबासमा रहँदा नकारात्मक सोच आउने गरेको, मृत्युका समाचारले मनमा डर पैदा गर्ने गरेको र तनाव उत्पन्न हुने गरेको अनुभव उहाँको छ ।

सङ्क्रमणबाट मुक्त भएका धेरैको अनुभव पनि दुरुस्त छ । कोरोना सङ्क्रमणले शारीरिकसँगै मानसिक स्वास्थ्यलाई समेत असर गर्ने विज्ञहरू बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा। रवि शाक्यले भन्नुभयो, “कोरोना सङ्क्रमित भई संस्थागत तथा होम आइसोलेसनमा रहेका अधिकांश व्यक्तिमा यो समस्या देखिने गरेको छ ।”

उहाँले एकान्तबासमा रहँदा शारीरिक स्वास्थ्यको ख्याल गरे पनि मानसिक स्वास्थ्यका बारेमा ध्यान नदिँदा यस्तो समस्या आउने गरेको बताउँदै कोरोना सङ्क्रमण मानिसको डरसँग जोडिएको रोग बन्न पुगेको र सङ्क्रमित वा अस्पताल भर्ना हुँदैमा केही हुन्छ कि भन्ने डरले मानसिक समस्या निम्त्याइरहेको बताउनुभयो ।

उहाँले एकान्तबास बसेका र सघन कक्षमा उपचारपछि निको भएका व्यक्तिमा मानसिक समस्या देखिएको जानकारी दिनुभयो । यसलाई चिकित्सकीय भाषामा पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) भनिने गरिन्छ । कोरोना महामारी नियन्त्रणका लागि गत वर्ष गरिएको बन्दाबन्दीमा पनि केहीमा एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्या देखिएको छ । “धेरै मानिस मरेको, सङ्क्रमित भएको समाचार सामाजिक सञ्जालमा बढी आउँछन् । यस्तो नकारात्मक समाचारले मानिसमा एन्जाइटी विकास भइरहेको छ,” डा। शाक्यले भन्नुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमणपछि धेरैमा ‘एन्जाइटी’ देखिएको छ । यो आत्तिने रोग हो । एन्जाइटीमा श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, कसैलाई घाँटीमा केही अड्किएको जस्तो लाग्ने, खसखस हुने, छटपटाहट भइरहने, हात काम्ने, मर्छु जस्तो लाग्ने, बेहोस हुन्छु कि जस्तो लाग्ने, नकारात्मक सोच आउने लक्षण देखिन्छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्