Logo
Logo

बर्षौंसम्म पनि बनेन मोटर पुल


दृष्टि संवाददाता


डोटी । जिल्लाका एक नगरपालिका तथा दुई गाउँपालिकासहित छिमेकी जिल्ला बझाङ जोड्ने उद्देश्यका साथ सेती नदीमाथि निर्माण गर्न लागिएको मोटर पुल शिलान्यास गरिएको वर्षौँ बितिसक्दासमेत निर्माण सम्पन्न भएको छैन । पुलका पिलरसमेत निर्माण नगरिएको भन्दै यहाँका नागरिक पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी पुष्प–राजेन्द्र जेभी निर्माण सेवासँग आक्रोशित बन्न थालेका छन् । पुल निर्माणको जिम्मा पाएको उक्त कम्पनीको लपरवाहीका कारण पुल समयमै बन्न नसकेको यहाँका नागरिकको आरोप छ ।

पुल निर्माणका विषयमा यहाँका सञ्चारकर्मीले पटक–पटक समाचार सम्प्रेषण गरे पनि सम्बन्धित निकायले कुनै वास्ता नगरेको आदर्श गाउँपालिकाका स्थानीयवासी तथा सञ्चारकर्मी तेजु ओलीले बताए । उनले भने, “पुल निर्माण नभएको विषयमा जिल्लाका सञ्चारकर्मीले कयौँ पटक समाचार लेख्यौँ तर सम्बन्धित निकायले कुनै वास्ता गरेन, अझै केही वर्ष पुल बन्ने सम्भावना देखिँदैन ।” तोकिएको समयमा पुल निर्माण नहुँदा जिल्लाको शिखर नगरपालिका र आदर्श गाउँपालिकाका स्थानीयवासीलाई निकै सास्ती भएको छ । पुल निर्माण चाँडो गर्न पहलका लागि यहाँका नागरिकले पटक–पटक सबै निकायमा खबर गर्दासमेत कुनै वास्ता नगरिएको बताइएको छ । वर्षौँदेखि पुल अभावमा यहाँका स्थानीयवासीले निकै समस्या भएको गुनासो गर्ने गरेका छन् ।

सामान्य कामका लागि आवतजावत गर्न पनि उनीहरूलाई घण्टौँ लामो पैदलयात्रा गर्नुपर्ने अवस्था आएको शिखर नगरपालिकाका स्थानीयवासी लोकबहादुर बलायरले बताए । उनले भने, “पुल निर्माण शुरु गरेको वर्षौँ बितिसक्यो तर सातनाली सडकको उक्त मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन ।” सातनाली–मेल्लेक–बझाङ जिल्लाको सडकलाई केआइसिंह राजमार्गसँग जोड्न जिल्लाको शिखर नगरपालिका–१० बान्डुङ्ग्रीसैनको सेती नदीमाथि पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार विसं २०७४ असार २९ गतेभित्र पुल निर्माण भइसक्नुपथ्र्यो । तर पुल निर्माण १० प्रतिशत पनि नभएको स्थानीयवासीको भनाइ छ ।

शिलान्यास भएदेखि सुस्त गतिमै भएको निर्माणकार्य अहिले बर्खा लागेपछि काम रोकिएको बताइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करिब ४०० मिटर लम्बाइको उक्त पुल डिभिजन सडक कार्यालय कुलपाते दिपायलले डडेल्धुराको पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी निर्माण शुरु गरेको थियो । पुल निर्माण हुने समयावधि समाप्त भएर थप गरिएको समय बितिसक्दासमेत निर्माण हुने छाटकाँट छैन ।

यतिमात्र नभई पुलका दायाँबायाँका पिलरसमेत बनेका छैनन् । पुल निर्माण नहुँदा यहाँको शिखर नगरपालिकाको वडा नं ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण विसं २०४९ देखि निर्माण शुरु भएको सातनाली–मेल्लेक–बझाङ सडक पनि अलपत्र अवस्थामा परेको स्थानीयवासी तथा समाजसेवी शेरबहादुर मल्लले बताए । उनका अनुसार मोटर पुल नबेनेकै कारण यहाँका स्थानीयवासी बिरामी परे अस्पताल पु¥याउन पनि घण्टौँ हिँड्नुपर्ने बाध्यता छ ।

पुल नबेका कारण उक्त ठाउँमा वर्षौँ पहिले काटिएको सडक ठाउँ–ठाउँमा भत्किइसकेको छ । उक्त पुल निर्माणस्थलको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले गत वर्ष अनुगमन गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिए पनि हालसम्म कामको खासै शुरुआत गरिएको छैन । मुख्यमन्त्री भट्टले पुलको काम समयमै सकिनेमा आफू विश्वस्त रहेको अनुगमनका क्रममा बताएका थिए ।

प्रदेश सरकारले पनि झुठो आश्वासन दिएको त होइन भन्दै त्यहाँका स्थानीय आक्रोशित बनेको अर्का स्थानीय रामबहादुर धामीले बताए । पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी पुष्प–राजेन्द्र जेभी निर्माण सेवाले कोरोनाका कारण भएको बन्दाबन्दी तथा पुल निर्माण गर्ने ठाउँको जमीनमुनि रक लागेका कारण निर्माणमा समस्या आएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्