कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार « Drishti News – Nepalese News Portal
Logo

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार


दृष्टि संवाददाता


काठमाडौं । प्रहरीले कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्लाको वेदकोट नगरपालिका-५ मा स्थानीय युवती माथि दुईजना युवकले बलात्कार गरेको हो ।

कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका-६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको छ ।

अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाको भनाई छ । बिहीबार स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छन् ।

राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको छ । जंगलमा दुवै जनाले मदिरा सेवन गराएर आफूमाथि बलात्कार गरेको युवतीले बताएकी छन् । प्रहरीले फरार युवकको खोजी कार्यसँगै घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्