काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले अवस्था सहज हुनेबित्तिकै रेल सञ्चालन गर्न निर्देशन दिएका छन् । भर्चुअल माध्यममार्फत भएको मन्त्रालयको नियमित प्रगति समीक्षा गोष्ठीमा उनले नेपाल रेलवे कम्पनीलाई निषेधाज्ञा खुल्नसाथ रेल चलाउन भने ।
‘नीतिगत, व्यावहारिक र प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ,’ मन्त्री नेम्वाङको भनाइ उद्धृृत गर्दै उनका प्रेस संयोजक सन्दीप राईले भने, ‘रेल सञ्चालन गरेर जनतालाई सेवा दिनुपर्छ ।’ सम्बन्धित अधिकारीसहित आफैंले स्थलगत अनुगमन गरेर रेल सञ्चालन गर्ने अवस्थामा पुगेको देखेको मन्त्री नेम्वाङको भनाइ छ ।
जयनगर–जनकपुर खण्डमा रेल चलाउने तयारी गरिएको यो पहिलो घटना भने होइन । गत असोज २ मा ल्याइएका दुई रेल सेट चलाउन कैयौं मिति तय गरिए । तर ९ महिनादेखि रेलको पालसमेत निकालिएको छैन ।
गत वर्ष पनि सञ्चालनमा कोभिडको प्रभाव पारेको र यो वर्ष पनि त्यही समस्या दोहोरिएको मन्त्रालयको भनाइ छ । सबै तयारी पूरा भए पनि निषेधाज्ञा खुल्नासाथ रेल चल्ने अवस्था नरहेको मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ बताउँछन् । नेपाल रेलवे कम्पनीमा काम गर्ने कर्मचारीको तालिम पूरा नभएकाले तत्कालै रेल चलाउन नसकिने उनको भनाइ छ ।
‘निषेधाज्ञाअघि भारतीय प्राविधिकको उपस्थितिमा तालिम सञ्चालन भइरहेको थियो, जुन तालिम एक महिनाको हो,’ सचिव श्रेष्ठले भने, ‘तर तालिम १० दिन मात्र चल्यो । अझै २० दिनको तालिम बाँकी छ ।’ निषेधाज्ञासँगै तालिम पनि बन्द गरिएको थियो । तालिम दिन पनि बोर्डर खुल्नुपर्ने श्रेष्ठले बताए ।
कर्मचारीदेखि कार्यालय व्यवस्थापनसम्मका सबै तयारी सकिएको छ । अवस्था सहज भएर कर्मचारीलाई तालिम दिनासाथ रेल सञ्चालनमा कुनै समस्या नभएको उनको भनाइ छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।











