काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विरोध जनाएको छ । उनले आपत्तीजनक अभिव्यक्ति दिएको भन्दै राखेपाले कारकाही गर्न माग गरेको हो ।
राखेप सदस्यसचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति समाजले पचाउन नसक्ने शब्दमा अमर्यादित टिप्पणी गरेको भन्दै राखेपले मनाङेलाई कानुनअनुसारको कारबाही गर्न माग गरेको छ ।
‘प्रदेश मन्त्रीजस्तो सार्वजनिक र महत्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्तिबाट कसैप्रति यस्तो अभिव्यक्ति आउनु भत्र्सनायोग्य कुरा हो,’ राखेपका निमित्त सदस्यसचिव पुरेन्द्रविक्रम लाखेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘माननीय मन्त्रीज्यूबाट समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव र बोर्ड सदस्यप्रति अमर्यादित टिप्पणी आउनु खेदजनक छ । यसले सम्पूर्ण नेपाली खेलकुदको अपमान भएको महसुस हामीले गरेका छौं ।
मनाङेले के भनेका थिए ?
मनाङेले मन्त्रीको शपथ लिएलगत्तै सञ्चारमाध्यमहरूलाई दिएको एन अन्तर्वार्तामा राखेप सदस्य सचिव सिलवाल पोखरा आउँदा बोर्ड सदस्य गुरुङले रक्सी र युवतीको बन्दोबस्त गर्ने गरेको बताएका थिए ।
राखेप सदस्य सचिव सिलवाल र बोर्ड सदस्य राजेश गुरुङको सम्बन्धबारे मनाङेले भनेकाछन्, ‘सिलवाल र यसको (राजेश गुरुङ)को सम्बन्ध राम्रो रहेछ । सिलवाल फेरि कस्तो रहेछ भने रक्सी र केटी भनेपछि पागल हुने । यिनीहरुले सबै प्रोभाइड गर्ने ।’











