विराटनगर । प्रदेश नम्बर १ सरकारले निजामती कर्मचारीहरूलाई खाजा खर्च दिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री टंक आङबुहाङले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गरेका हुन् ।
कर्मचारीहरुको प्रोत्साहनका लागि साउन १ गतेबाट हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्चको व्यवस्था गरिने उनले बताए ।
उनले भने, ‘प्रदेशका कर्मचारीहरुको उत्प्रेरण, मनोबल बृद्धि गर्न प्रोत्साहनस्वरुप २०७८ साउन एक गतेदेखि लागू हुने गरी प्रत्येक कर्मचारीलाई कार्यालयमा उपस्थित भएको दिन रु एक सयको दरले खाजा खर्च प्रर्दान गर्ने व्यवस्था मिलाएको छु ।’
प्रदेश सरकारले स्थानीय पूर्वाधार विकास कार्यक्रम तथा निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले यसअघि विवादास्पद बनेको ‘म अघि बढ्छु’ कार्यक्रमलाई प्रदेशका २ लाख विद्यार्थी परिचालन गर्ने गरी सञ्चालन र विस्तार गर्ने व्यवस्था मिलाउने पनि भएको छ ।
‘मेरो कृषि मेरो पौरख’ नाराका साथ सुरु गरिएको प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रमलाई निरन्तरता दिँदै ५ करोड ७२ लाख बजेट विनियोजन गरेको छ । प्रदेश गौरवको आयोजना विराटचौक–हरैचा–घिनाघाटलगायत स्रोत सुनिश्चितता भई दायित्व सिर्जना भइसकेका बहुवर्षीय सडक आयोजनाहरूका लागि ५ अर्ब २१ करोड बजेट विनियोजन गरिएको छ ।
विपन्न वर्ग लक्षित सौर्य ऊर्जा उज्यालो कार्यक्रम स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गर्न ५ करोड बजेट विनियोजन गरेको छ । सेवा प्रवाहलाई भरपर्दो, जनमुखी, उत्तरदायी र पारदर्शी बनाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक उच्च स्तरीय संयन्त्रको स्थापना गरिने बजेटमा भनिएको छ ।
निषेधाज्ञाको अवधिभर घरेलु तथा साना उद्योग कार्यालय र यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवामा बुझाउनुपर्ने कर तथा शुल्कमा जरिवाना, थप जरिवाना, दस्तुर, थप दस्तुर छुट दिने बजेटमा व्यवस्था गरेको छ । सञ्चार क्षेत्रको अनुमतिपत्र दर्ता र नविकरण दस्तुर छुट दिने भएको छ ।












