Logo
Logo

जेनेभामा बाइडेन-पुटिनबीच झन्डै चार घन्टा वार्ता, केके भयो छलफल ?


दृष्टि संवाददाता


जेनेभामा भएको वार्ताका क्रममा बाइडेन र पुटिन।


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच स्विट्जरल्यान्डको राजधानी जेनेभामा झन्डै चार घन्टा छलफल भएको छ । बाइडेनले अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बुधबार रूसी समकक्षीसँग वार्ता गरेका हुन् ।

खस्किँदै गएको अमेरिका-रूस सम्बन्धमा बाइडेन-पुटिन वार्ताले खासै ठूलो परिवर्तन नल्याउने वार्तापछि उनीहरूले गरेका छुट्टाछुट्टै पत्रकार सम्मेलनबाट देखिन्छ । समाचार अनुसार जेनेभा तालको किनारमा बाइडेन र पुटिनले छुट्टाछुट्टै पत्रकार सम्मेलनमार्फत् एक—अर्काबारे नराम्रा शब्द त प्रयोग गरेनन् तर वार्ताबाट सम्बन्धमा परिवर्तन हुने संकेत पनि गरेनन् ।

दुबै नेताहरूले वासिङ्टन र मस्कोमा फेरि आफ्ना राजदूत पठाउने सहमति गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि बाइडेनले गत मार्चमा पुटिनलाई हत्यारा भनेपछि रूसले आफ्ना राजदूतलाई वासिङ्टनबाट फिर्ता बोलाएको थियो भने अमेरिकाले पनि मस्कोबाट आफ्ना दूतलाई बोलाएको थियो ।

त्यस्तै दुबै राष्ट्रपतिले साइबर सुरक्षा र हतियार नियन्त्रणबारे कुराकानी गर्ने सहमति गरेका छन्। ती विषयमा अब कसरी कुराकानी अघि बढ्छ भन्ने खुलाइएको छैन । वार्ताका क्रममा आफूले गत मेमा अमेरिकाको पूर्वी क्षेत्रमा पाइपलाइनमा भएको साइबर आक्रमणको कुरा उठाएको बाइडेनले बताए। तर पुटिनले भने रूसले अमेरिकामाथि कुनै साइबर हमला नगरेको दाबी गरे ।

राष्ट्रपति बाइडेनले पुटिनलाई १६ वटा क्षेत्रमा रूसले साइबर हमला गरे त्यसको परिणाम गम्भीर हुने भनेको बताए। तर १६ क्षेत्र के(के हुन् भन्ने उनले खुलाएनन् । रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीका विषयमा पनि आफूले कुरा उठाएको बाइडेनले बताए ।

रूसी राष्ट्रपति पुटिनले भने जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमण, ब्ल्याक लाइभ्स म्याटर आन्दोलनजस्ता कुराले अमेरिकामा अस्तव्यस्ता ल्याएको भन्दै सहानुभूति प्रकट गरे । उनले आफ्नो मुलुकमा त्यस्तो हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्