
काठमाडाैं । काठमाडौं महानगरपालिकाकाे नगरपरिषद बैठक उपमेयरसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिस्कार गरेका छन् ।
महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित उपमयेरसहितका जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन् ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले कार्यपालिका बोर्डबाट पारित नै नभएको नीति तथा कार्यक्रम परिषद्मा लैजान लागेको भन्दै आफूहरुले बहिष्कार गरेको उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन् ।
‘नीति तथा कार्यक्रम ल्याउने वैधानिक बाटो छलिएको छ । महानगरवासीलाई निःशुल्क खोप दिने , कर घटाउने लगायतका हाम्रो प्रस्तावलाई बाइपास गरिएकोले नगरपरिषद् बहिष्कार गरेका हौं’, उपप्रमुख खड्गीले भनिन् ।
नगरपरिषद बहिष्कार गर्नेमा कांग्रेसबाट निर्वाचित १४ जना वडा अध्यक्षहरु समेत छन् । नगरपरिषदमा एमालेको बहुमत भएका कारण एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको कांग्रेसको आरोप छ ।











