Logo
Logo

पहिरो पीडितको पीडा: जंगलमा भोकभोकै त्रिपालमूनि बास


हिक्मत बम


चुर । कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडितहरूको उचित व्यवस्थापन नहुँदा उनीहरु जंगलमा त्रिपालमूनि बस्न बाध्य भएका छन । वर्षातको समयमा उनीहरु जंगलमा त्रिपालमूनी बसेर कष्टकर जीवन यापन गर्दै आएका छन ।

गत साउन १७ गते चुरे गाउँपालिका वडा नम्बर ५ को मौरीमा पहिरो गएपछि विस्थापित भएका परिवारको समयमा उचित व्यवस्थापन हुन नसकेकाले उनीहरुको कष्टकर जीवन यापन गर्न बाध्य भएका हुन् । पहिरो पीडितहरू अहिले चुरे गाउँपालिका र गौरीगंगा नगरपालिको सीमाना क्षेत्रमा पर्ने राष्ट्रिय वनमा त्रिपाल टाँगेर बस्दै आएका छन् ।

उनीहरू बिच जङ्गलमा बस्न थालेको १० महिना भइसक्दा पनि सरोकारवाला निकायले उचित व्यवस्थापन नगर्दा कष्टकर जीवन यापन गर्न बाध्य भएको बाढीपहिरो पीडित रमेश धामीले बताए । उनले १० महिनात जसो तसो कटियो अब वर्षातको समय कसरी काट्ने भन्ने चिन्ता बढेको दुखेसो गरे ।

उनले भने, हामी त्रिपाल टंगेर जंगलमा बसेका छौं, अब वर्षा सुरु भयो, छोराछोरीलाई कीराफटायांग्र र सर्पबाट कसरी बचाउने भन्ने चिन्ताले नसुती रात बित्छ । चुरेका पहिरो पीडितहरू विभिन्न ठाउँमा कष्टकर जीवन यापन गर्दै आएका छन । अन्त कतै जाने ठाउँ नभएपछि आफूहरू सोही स्थानमा बस्न बाध्य भएको पीडितहरू बताउँछन ।

घरमा भएको खाद्यान्न सकिदा कति दिन त भोक भोकै बस्नु परेको पहिरो पीडित रुपा बुढाले बताइन् । उनले भनिन्, ज्याला मजदुरी गरेर त साँझबिहानको हातमुख जोडिन्थ्यो, त्यो पनि कोरोनाले गर्दा खासियो । कति रात त भोकै सुतियो, कति दिन त गिठा खाएर बित्यो । उनले आफू के खाने भन्दा पनि छोराछोरीलाई के खुवाउने भन्ने चिन्ताले सताउने गरेको दुखेसो पोखिन् ।

जङ्गलको बिचमा त्रिपालै त्रिपालले ढाकिएको बस्तीमा तीन सय घरपरिवार त्रिपालमूनि बसिरहेका छन् । चुरे गाउँपालिकाका विभिन्न वडाहरूबाट पहिरो पीडित भएर वासस्थानको खोजिगर्दै जङ्गललाई आफ्नो वासस्थान बनाएका उनीहरूको अवस्था अहिले दयनीय बन्दै गएको छ । पहिरोले घर खेत बगाएपछि घरबारविहीन भएका पीडितहरु राज्य प्रति उदासिन देखिन्छ । उनीहरु खाने व्यवस्था भन्दापनि बासको व्यवस्था मिलाई दिन राज्यलाई पटकपटक आग्रह गरिरहेका छन । तर राज्यले उनीहरुको कुरा सुनेको छ, अवस्था पनि बुझेको छ र पनि बेखवर जस्तै भएको छ ।

त्रिपालमुनिको बसाइले गर्दा सानासाना बालबालिकालाई जङ्गलमा रहेका किरा फट्याङ्ग्रा सर्पबाट बचाउन गाह्रो भएको ललिता रोका मगरले बताए । उनले भने, बस्न र खानको लागि मात्र समस्या नभइ शुद्ध खानेपानीको पनि समस्या उस्तै छ । उनले अहिले हामी नदीको धमिलो पानी पिउनुपर्ने बाध्यता भएको बताए । पहिरोले चुरेमा रहेको छद खादाको घर खेत बगाएपछि उनीहरू घरबारविहीन भएका हुन् ।

उनीहरु जङ्गलमा पाइने गिठा व्याक्कुर निगुरो खोले खाएर बस्न बाध्इ भएका छन । राष्ट्रिय वनमा आफ्नो वासस्थान बनाएका पहिरो पीडितहरू राज्यले सुरक्षित वासस्थानको व्यवस्था गरिदिनुपर्ने बताउँछन् । घरबारविहीन भएर जङ्गलको सरणमा पुगेका आफ्ना नागरिकहरूलाई जनप्रतिनिजधिहरुले वास्तै नगरेको पहिरो पीडितको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्