Logo
Logo

सशस्त्रका ठूला कमाण्डर खिचातानीमा व्यस्त, साना अनियमिततामा मस्त !


दृष्टि संवाददाता

309.3k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलमा राजनीतिक शक्तिकेन्द्रको आडमा नेतृत्वबीच अनेक विवाद उत्पन्न हुँदै आएको छ । यतिखेर आइजीपी शैलेन्द्र खनाल र एआइजी पुष्पराम केसीबीच विवाद बढेको छ ।

सिपाहीहरू महामारीविरुद्ध लडीरहेका बेला नेतृत्व भने आफैं लडीरहेको यो घटनाले एकातर्फ संगठनकै बदनामी भएको छ भने अर्कोतर्फ कर्मचारीकै मनोबल घटाएको छ । यस्तो विवाद रोक्न गृह मन्त्रालयले पनि कुनै पहल गरेको देखिन्न । किनकि, दुवै जना राजनीतिक रुपमा शक्तिशाली छन् ।

सशस्त्र नेतृत्वमा पछिल्लो विवाद मिडियाबाजीका कारण बढेको हो । दुवै पक्षले एक अर्काविरुद्ध मिडियाबाजी गरेका छन् । एआइजी केसीले आफुविरुद्ध गतल प्रचार गरेर हटाउन खोजेको आशंका महानिरीक्षक खनालको छ । दुवै एउटै ब्याची हुन् । जसकारण सुरुदेखि उनीहरुबीच विवाद हुँदै आएको छ ।

दुई महिनाअघि खनालले केसीलाई एआइजीको पदावधि थप्नबाटै रोक्ने प्रयास गरेपछि उनीहरुबीचको सम्बन्ध थप चिसिएको थियो । महानिरीक्षक खनालको अनिच्छाका बाबजुत पनि सरकराले केसीको म्याद थप गरेको थियो ।

नेतृत्वमा यस्तो असमझदारी बढ्नुमा दुवै पक्षको गल्ती रहेको एक अधिकारी बताउँछन् । ‘महानिरीक्षकज्यूले पनि सहकर्मीहरुलाई विश्वासमा लिन सक्नुभएन,’ सशस्त्र प्रहरीकाएक बरिष्ठ अधिकारी भन्छन्– ‘अधिकार नपाएपछि एआइजीसाबहरु पनि बढी गुटबन्दीमा लाग्नुभयो । समस्या यही हो ।’

राजनीतिक शक्ति केन्द्रको आडमा सशस्त्र प्रहरी बलका नेतृत्व आन्तरिक खिचातानीमा व्यस्त, तल्ला निकायका कमाण्डर अनियमिततामा मस्त छन् ।

महानिरीक्षक खनालको कार्यकाल तीन वर्ष पुरा भइसकेको छ । उनको कार्यालय आगामी चैतमा पुरा हुन्छ । अहिलेकै अवस्थाअनुसार त्यसपछि केसी करिब तीन साताका लागि महानिरीक्षक हुनेछन् । त्यसअघि नै खनाललाई हटाउन सके आफु लामो समय आइजिपी हुने उनको रणनीति रहेको बताइन्छ । केसीको प्रधानमन्त्री निकट केही व्यक्तिहरुसँग राम्रो सम्बन्ध छ । खनालको विगतमा प्रचण्डसँग बढी दोस्ती थियो । त्यसकारण केसीले खनालविरुद्ध चलखेल गरेको बताइन्छ ।

संगठनमा रोकिएन अनियमितता

नेतृत्वमा विवाद चलिरहँदा सशस्त्र प्रहरीका कार्यालयहरुमा भने अनियमितता बढ्दै गएको छ । बिओपीदेखि बाहिनीसम्म अनियमितताका घटना बढेका हुन् ।

कर्णाली प्रदेशस्थित सशस्त्र प्रहरीको बबाहिनीका प्रमुख डीआइजी अभि खत्रीले राम्रो कमाण्ड गर्न नसकेको मातहतका प्रहरीले गुनासो गरेका छन् । केही दिन अघि हुम्लास्थित हिल्सामा रहेको बिओपिमा दैनिक आवश्यक खाद्यान्न सकिएपछि त्यहाँका प्रहरी समस्यामा परेका थिए । जुन कुरा त्यहाँका कमाण्डरले संचार माध्यममा बताएका थिए ।

आफु मातहतको कार्यालयमा यस किसिमको समस्या आउने पुर्वजानकारी समेत डीआइजीले लिएनन् । त्यस्तो जानकारी लिएर उपल्लो कार्यालयमा रिपोर्टसमेत नगर्नु उनको गम्भीर गल्ति भएको सशस्त्र प्रहरी बलका अधिकारीहरु बताउँछन् ।

एउटा बिओपीको समस्या समाधान गर्न नसक्नेले किन क्षेत्र चलाउने रहर गर्नु भन्दै ६ नम्बर प्रदेश अन्तर्गतका एक कमाण्डर भन्छन्– ‘के उहाँको काम मातहत कार्यालयबाट सिपाहिको पेट मारेर रकम असुल्ने मात्रै हो ?’

डिआइजीले यस्ता बिषयमा थोरै भए पनि चासो लिएको भए दुर्गममा बसेर देशको सीमा सुरक्षामा खटिएका फौजले तरकारी, तेल जस्ता दैनिक उपभोग्य र न्युनतम आवश्यकता नपाएर बिचलित हुनुपर्ने अबस्था थिएन । डीआइजी खत्रीको ध्यान सिपाहीका समस्यामा पनि आर्थिक लेनेदेनमा हुने गरेको छ । जसका कारण ६ नम्बर बाहिनी मातहतका गण तथा गुल्ममा कोरोना महामारीको बेला पनि बिदा छाड्ने गरिएको छ ।

खत्री तिनै अधिकृत हुन् जसलाई पोखरा लामापाटनस्थित तालिम केन्द्रमा कार्यरत रहँदा सरकारी सामान निजी डेरामा लैजाने क्रममा मुख्यद्वारमा देखेपछि ती सामान फिर्ता गराएर तत्कालिन समादेशक प्रकाश ओझाले कारबाही गर्न खोजेका थिए । तर, शक्तिकेन्द्र रिझाएर उनी त्यसबेला कारबाहीबाट जोगिएका थिए ।

सशस्त्र प्रहरी बलको केन्द्रीय लेखा स्टोरमा भएको आगलागी काण्डमासमेत उनी मुछिएका थिए । शक्तिकेन्द्रको आडमा पटक–पटक उनी कारबाहीबाट जोगिँदै आएका छन् । अहिले पनि आफू शक्तिकेन्द्रबाटै आएको भन्दै असुलीमा ध्यान दिएको स्रोत बताउँछ ।

गण–गुल्ममा उस्तै अवस्था

कोरोना संक्रमण नियन्त्रणका लागि अहिले सीमा नाकामा दैनिक १८ घन्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता छ । २४ घण्टा सीमा निगरानी गर्नु पर्ने भएकोले सशस्त्र प्रहरी बलमा बिदा आउट पनि बन्द छ । तर संगठनको नीति विपरीत तराईमा ड्युटीको चटारो हुँदा पहाडका युनिटमा भने बिदा छोड्ने क्रम जारी छ ।

पाँचथरस्थित गुल्मका गुल्मपति डीएसपी किशोरकुमार श्रेष्ठ संगठनको नीतिविपरीत अधिक बिदा छोडेर रासनमा बदमासी गरेकोमा सशस्त्र प्रहरी हेडक्वार्टरले छानबिन थालेको छ । उनको गुल्मबाट झन्डै ४० प्रतिशतसम्म कर्मचारी नियमित बिदामा बस्ने गरेका छन् ।

यस्तैै, दोलखा गुल्मका गुल्मपति डीएसपी बुद्धीनारायण महर्जनले पनि आधाभन्दा बढी कर्मचारी बिदामा पठाएर राशनको पैसा अनियमितता गरेको आरोप लागेको छ । कोरोनाको कारण केन्द्र र बाहिनीबाट समेत अनुगमन नहुने भएपछि बिदा छाड्ने विकृति बढेको हो ।

लामापाटनस्थित तालिम केन्द्रमा रहँदा तालिमे प्रशिक्षार्थीहरुलाई अत्याधिक यातना दिएका कारण बदनामी कमाएका महर्जन कमाण्ड कन्ट्रोलमा पनि कमजोर अधिकृत मानिन्छन् ।

यता राशनमा बदमासी गर्दै आएका सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्म मनाङका गुल्मपति डीएसपी होमनाथ पन्थीलाई एआइजी पुष्पराम केसीले उन्मुक्ति दिएका छन् । २४ घण्टे पत्र काटेर मुख्यालयस्थित प्रशासन विभाग झिकाइएका गुल्मपति मुख्यालय हाजिर भएको २४ घण्टा पनि नबित्दै पुन गुल्म फर्किएका छन् । उनले हाकिमसँग सेटिङ मिलाइसकेकाले जसले जे उजुरी गरेपनि केही नहुने भन्दै उनले मातहतका प्रहरीलाई थर्काउने गरेका छन् ।

ललितपुरस्थित दक्षिणकाली गणका गणपति एसपी किरण ढुंगानाविरुद्ध पनि अनियतिताको उजुरी परेको छ । उनी शक्तिकेन्द्र धाएर सो गणको गणपति भएका हुन् । सस्तो प्रचारबाजीका लागि पम्प्लेट छपाएर अनावश्यक फुर्ति गरेको गणकै कर्मचारी बताउँछन् । उनले पनि राशनभत्ताका लागि धेरै बिदा छाडेको स्रोत बताउँछ ।

कोरोना महामारीको बेला केही कर्मचारी ज्यान दिएर खटिएका बेला केही हाकिम भने कमाउनमै व्यस्त छन् । संगठनको नेतृत्वमा एकता नहुँदा यसरी त्यसको असर तल्लो तहसम्म परेको छ ।

प्रतिक्रिया दिनुहोस्