Logo
Logo

विदेशीलाई मात्र फाइदा पुग्ने काम गर्नुहुँदैन : बिजुक्छेँ


दृष्टि संवाददाता


भक्तपुर । नेपाल मजदूर किसान पार्टीकाअध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको चुरे क्षेत्रको बालुवा, ढुंगा, गिटी अधिकांश भारतमा निर्यात गर्दा दोहन मात्र भई नेपाली भूमि डुबानमा परिरहेको बताएका छन् ।

भक्तपुर नगरपालिकाको दशौंँ नगरसभाको आज उद्घाटन गर्दै उनले नेपाल सरकारले विदेशीलाई मात्र फाइदा पुग्ने गरी कुनै पनि काम गर्न नहुनेमा जोड दिए ।

जनताको अमूल्य मतबाट विजयी जनप्रतिनिधिले जनअपेक्षानुरुप कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै उनले नगरपालिकाको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको आदर निकेतन सञ्चालन गर्ने विषयमा जनस्तरबाट सुझाव र व्यापक छलफल आवश्यक रहेको औँल्याए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आव २०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताको आर्थिक सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन विभिन्न रोगबाट पीडित भक्तपुर नगरवासीका लागि २०७९ असार मसान्तसम्म निःशुल्क वितरण गरिने घोषणा गरे ।

उनले योजना छनोट र कार्यान्वयनमा स्थानीय तहको भूमिकालाई गौण बनाउँदै लगिएको र सशर्त बजेटका नाउँमा योजना छनोट गर्ने स्थानीय तहको अधिकारमा केन्द्र र प्रदेश सरकारले अंकुश लगाउँदै आएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्