Logo
Logo

जता भत्ता, प्रहरी र कर्मचारी त्यता


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ चैत ।
कर्मचारीका लागि देशका आकर्षक कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि पर्न थालेको छ । पावर र भत्ताका कारण आयोग कर्मचारी र प्रहरीको रोजाईमा पर्न थालेको हो ।
गत माघदेखि आयोगका कर्मचारीलाई शतप्रतिशत भत्ता दिने निर्णय सरकारले गरिसकेको छ । भत्ताका कारण अहिले अख्तियार जान कर्मचारीमा ठूलै सोर्सफोर्स चल्न थालेको छ ।

अख्तियारमा सरुवा हुन सामान्यतया आयोगले नै माग गरेको हुनुपर्छ । त्यहीकारण आयोगमा सरुवा लागि निकै सोर्सफोर्स आउन थालेको आयोगका एक अधिकारीले बताए ।
आयोगमा करिब नौ सय कर्मचारीको दरबन्दी छ । जसमा करिब डेढ सय प्रहरी छन् । डिआईजी ठाकुर ज्ञवालीको नेतृत्वमा आयोगमा प्रहरीको छुट्टै महाशाखा छ । प्रहरीबाट पनि आयोगमा सरुवा हुन दौडधुप चल्न थालेको छ ।
भत्ता नहुँदा कर्मचारीहरु आयोग जान चाहदैन थिए । काम धेरै हुने भएकाले उनीहरुको रोजाईमा अन्य कार्यालय थिए । अहिले शतप्रतिशत भत्ताको लोभले कर्मचारी र प्रहरी आयोगमा आकर्षित भएका छन् । कतिपय भने आयोगमा परेका उजुरीमै चलखेल गर्न समेत त्यहाँ जाने गर्दछन् । आयोगकै एक असई जन्म अधिकारी त्यस्तै धन्दामा लागेको खुलेपछि दुई महिनाअघि पक्राउ परेका थिए । अन्य केही कर्मचारीहरुविरुद्ध समेत प्रमुख आयुक्त नविन घिमिरेकोमा उजुरी परेको थियो । आयुक्त रहेका राजनारायण पाठक आफैं समेत यस्तो धन्दामा सक्रिय रहेको खुलेपछि उनीविरुद्ध अनुसन्धान सुरु भइसकेको छ ।
आयोगकै कर्मचारीविरुद्ध उजुरी पर्न थालेपछि प्रमुख आयुक्त घिमिरेले आफ्नै नेतृत्वमा बिशेष निगरानी टिम बनाएका छन् । केहीलाई हालै जिम्मेवारीबाट हटाइएको स्रोत बताउँछ । कतिपय कर्मचारी तथा प्रहरी भने आफूले विगतमा गरको अनियमितता लुकाउन समेत आयोगमा जाने गरेका छन् । आयोगमा काम गरेका प्रहरीले भने बढुवा र सरुवामा प्राथमिकता पाउने गरेका छन् ।
तर, अख्तियारमा पनि भत्तामा विभेद छ । अधिकृत वा सो भन्दा माथिल्ला तहका कर्मचारीलाई शतप्रतिशत तथा तल्लो तहलाई ५० प्रतिशत मात्र भत्ता पाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्