Logo
Logo

प्रहरीको सरुवा- बढुवामा हस्तक्षेप हुँदैनः विष्णु पौडेल


दृष्टि संवाददाता



काठमाडौं । गहमन्त्रीको समेत जिम्मेवारी पाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रहरीमा मन्त्रालयको कुनै हस्तक्षेप नहुने बताएका छन् । नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको उनको भनाई छ ।


शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफूले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताए। उनले आफूसहित गृहसचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए। संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिएका छन् ।
‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिन। म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ। कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यसहिसाबले अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु,’ उनले भने, ’आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरु सबै स्वतन्त्र हुनुहुन्छ। कुनै प्रहरी संगठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन। गृहसचिवबाट पनि हस्तक्षेप हुँदैन ।’
मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एक जना प्रहरी पनि आफूकहाँ नआउन समेत निर्देशन दिएका छन् । आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्नसक्ने बताए।
‘मकहाँ एउटा पनि पुलिस नआओस्। अन्याय भयो भनेर साँच्ची नै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु। नभए प्रमोसनका निम्ति, थमौतीका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस मकहाँ नआओस्,’ मन्त्री पौडेलले भने, ’प्रहरी संगठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरु स्वतन्त्र हुनुहुन्छ। मेरो जिम्मेवारी सहजीकरणको हो। हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेही÷जिम्मेवार छौँ, त्यस ढंगले गर्नेछौँ। त्यसबाहेकका यावत् कामहरु यहाँहरुले गर्नुपर्दछ।’

प्रतिक्रिया दिनुहोस्