Logo
Logo

प्रधानमन्त्री ओलीले एक मन्त्रीलाई सचेत गराए


दृष्टि संवाददाता



काठमाडौं । जातीय विभेदका आरोपीलाई प्रहरी कार्यालयमै गएर छुटाउँदा विवादमा तानिएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकमा ओलीले मन्त्री श्रेष्ठलाई सचेत गराएका हुन् ।


आवेगमा आएर यस्तो काम नगर्न प्रधानमन्त्रीले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए । ‘यस विषयमा प्रधानमन्त्रीज्यूले हिजो शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको छ,’ मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘क्याबिनेट मन्त्रीबाट यस्तो काम हुन नहुने हो, गल्ती भएको छ, त्यसलाई हामीले स्वीकार गर्नुपर्छ ।’
मन्त्री श्रेष्ठले कानून मन्त्रालय सम्हालेको ६ महिनाको अवसरमा पत्रकार सम्मेलन गरेका थिए । यो अवधिमा सम्पन्न गरेको काममा उनले जातीय छुवाछुत तथा विभेद विरुद्धका अभियान सञ्चालन गर्न बजेट व्यवस्था गरिएको बताए । एकातर्फ विभदेविरुद्ध अभियान सञ्चालन गर्न बजेट व्यवस्था गर्ने र अर्काेतर्फ सरकारकै मन्त्रीले जातीय विभेदको घटनामा आरोपीलाई संरक्षण गरेको विषयमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री श्रेष्ठले शिक्षामन्त्रीबाट गल्ती भएको बताएका हुन् ।
पत्रकार रुपा सुनारलाई जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन शिक्षा मन्त्री श्रेष्ठ गत साता प्रहरी कार्यालय पुगेका थिए । छुटेपछि आफ्नै गाडीमा राखेर घर त्यहाँबाट लिएर गएका थिए । जातीय विभेदलाई प्रोत्साहन गरेको भन्दै मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग भइरहेको छ । प्रधानमन्त्रीले मन्त्रीको श्रेष्ठको ध्यानाकर्षण मात्र गराएका छन् ।
मन्त्री श्रेष्ठ यसअघि पनि पटक पटक विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्