Logo
Logo

एक डरलाग्दा ‘यौन अपराधी’, जसबाट ३० महिला पीडित भए


दृष्टि संवाददाता



काठमाडौं । गत २ असारमा महानगरीय प्रहरी वृत्त जगातीमा कमलविनायक क्षेत्रका करिब १५ जना महिला जम्मा भए । समान प्रकारको उजुरी लिएर उनीहरू प्रहरी कार्यालय पुगेका थिए । एक युवकले महिलालाई शृंखलाबद्ध रूपमा दुर्व्यवहार गरेर हैरान बनाएका थिए । खासगरी साँझको समयमा एकान्तमा हिँडिरहेका महिला तथा युवतीनजिक गएर जिस्क्याउने, चिमोट्ने, उनीहरूको गोप्य अंग छुने र मोटरसाइकलमा भाग्ने । एउटा अनौठो स्वभावको व्यक्तिको यस्तो हर्कतले धेरै महिला पीडित भएका थिए । शृंखलाबद्ध रूपमा एकपछि अर्को घटना भएपछि महिलाको हुल नै प्रहरी कार्यालय पुगेको थियो । टोलमा एक किसिमको आतंक नै मच्चिएको थियो ।


गत पुसमा पनि प्रहरीमा यस्तै किसिमको एउटा मौखिक उजुरी आएको थियो । फेरि एकैपटक सोही प्रकारका धेरै उजुरी आएपछि प्रहरीमाथि पनि चुनौती थपियो । पीडितको संख्या ठूलो भएकाले प्रहरीले अनुसन्धानका लागि टोली नै बनायो ।

प्रहरीले अनुसन्धान थालेको भोलिपल्ट बिहान अर्थात् ३ असारमा जगाती वृत्तमा फेरि अर्को उजुरी आयो । बिहान साढे पाँच बजेको समयमा जगातीमा एक महिलालाई बाटोमा एक युवकले आफ्नो यौनांग देखाएर दुर्व्यवहार गरेका थिए । यो घटनामा संलग्न व्यक्तिको हुलिया पनि कमलविनायक क्षेत्रका व्यक्तिसँगै मिल्दोजुल्दो थियो । एउटै व्यक्तिले यस्तो अपराध गरेको हुन सक्ने आकलनका आधारमा प्रहरीले अनुसन्धानलाई तीव्रता दियो ।

त्यसरी धेरै घटना भएको भक्तपुर नगरपालिकाको ८ र १० नम्बर वडामा प्रहरीले निगरानी बढायो । महिला प्रहरीलाई साँझको समयमा सादा पोसाकमा दैनिकजसो सो क्षेत्रमा खटाइयो । सो क्षेत्रमा राखिएका सबै सिसिक्यामेरामार्फत आशंकित व्यक्तिको मोटरसाइकल निगरानी भयो । अनुसन्धानलाई अघि बढाउन आरोपीबारे प्रहरीले केही सूचना प्राप्त गर्न सकेको थिएन । टोल नै आतंकित भइसकेकाले अभियुक्त पक्राउ गर्न माथिल्लो निकायबाट समेत प्रहरीमाथि दबाब बढिरहेको थियो । अभियुक्तले हेल्मेट र मास्क लगाउने भएकाले उनको अनुहार पनि पहिचान हुन सकेको थिएन ।

यस्तो अपराधमा संलग्न व्यक्ति रातो नम्बरको मोटरसाइकल प्रयोग गर्दथे । तर, पीडितहरूले मोटरसाइकल नम्बर ठम्याउन सकेका थिएनन् । सिसिक्यामेरामा पनि प्रस्ट देखिएको थिएन । नम्बर नदेखियोस् भनेर उनले मोटरसाइकलको ब्रेकलाइटसमेत नबल्ने बनाएका थिए ।

निगरानी गरेर आरोपीलाई पक्राउ गर्ने प्रयास असफल भएपछि प्रहरीले मोटरसाइकल नम्बरकै आधारमा अनुसन्धान अघि बढायो । लट र अल्फाबेट नखुले पनि मोटरसाइकल नम्बर ९५७३ रहेको एक पीडित महिलाले याद गरेकी थिइन् । सोही आधारमा प्रहरीले सो नम्बर भएका मोटरसाइकलको विवरण यातायात व्यवस्था कार्यालयबाट मगायो । तर, धेरैवटा नम्बरको विश्लेषण गर्दा पनि रातो नम्बरको पल्सरसँग ‘म्याच’ भएन ।

‘पछि थप लटका मोटरसाइकलको विवरण मगायौँ,’ महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक विष्णु फुँयाल भन्छन्, ‘त्यसमा बागमतीमा दर्ता भएको ७८ लटको मोटरसाइकलमाथि केन्द्रित भएर अनुसन्धान गर्दा हामी अभियुक्तसम्म पुग्न सफल भयौँ ।’ मोटरसाइकलका आधारमा प्रहरीले पत्ता लगाएको अभियुक्तको मोबाइल नम्बर स्विच्डअफ थियो । उनका आफन्तको नम्बर पत्ता लगाई बुझ्दा ती व्यक्तिको भक्तपुरको भत्केकोपाटीमा तरकारी फार्म रहेको खुल्यो ।

तरकारी किन्ने ग्राहक बनेर गएको प्रहरी अन्ततः दुई साता लामो अनुसन्धानपछि अभियुक्त चमारसिंह तामाङलाई मंगलबार पक्राउ गर्न सफल भयो । पक्राउ परेपछि उनले सबै घटनामा आफैँ संलग्न भएको स्वीकार गरेको जगाती वृत्तका डिएसपी राकेश थापाले बताए ।

सामान्यतया धेरैजसो अपराधको कारण हुन्छन् । पीडित र अभियुक्तबीच कुनै किसिमको सम्बन्ध हुन्छ । तर, यसमा अपरिचित व्यक्तिलाई नै पीडित बनाइएको थियो । जसकारण अनुसन्धान जटिल बनेको थियो ।

रामेछापको सुनापाती स्थायी घर भई भक्तपुर– १० कमलविनायकमा बस्दै आएका उनी खेती र टिपर चलाउने पेसामा आबद्ध व्यक्ति हुन् । किन उनले यसरी शृंखलाबद्ध रूपमा महिलामाथि दुर्व्यवहार गरे भन्ने विषय अनुसन्धानकै क्रममा रहेको जगाती वृत्तका डिएसपी थापा बताउँछन् । ‘कहिलेकाहीँ यस्तै गर्न मन लाग्छ भनेर उनले भनेका छन्,’ डिएसपी थापा भन्छन्, ‘उनको मानसिक जाँच पनि गराएका छौँ । उनको पृष्ठभूमिबारे बुझ्दै छौँ ।’ अभियुक्त तामाङविरुद्ध ६ महिलाले लिखित उजुरी दिएका छन् । अन्यले पीडित महिलाले कागज गरिदिएका छन् । कम्तीमा १५ महिलाको प्रहरीले पहिचान गरिसकेको छ । उजुरी नआएका अन्य धेरै घटना हुन सक्ने प्रहरीको आशंका छ ।

अभद्र व्यवहार र सार्वजनिक स्थानमा यौनांग देखाएको गरी उनीविरुद्ध दुई मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । तामाङ वैवाहिक व्यक्ति हुन् । महिलालाई दुःख दिएर आनन्द लिने ‘स्याडिस्ट’ प्रवृत्ति उनमा देखिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । यस्तो किसिमको अपराधमा संलग्न व्यक्तिमा कुनै मानसिक समस्या हुन सक्ने पाटन अस्पतालमा कार्यरत मनोचिकित्सक डा। अनन्त अधिकारी बताउँछन् ।

‘पहिलो– मस्तिष्कको विकास राम्रोसँग नभएको व्यक्तिले के राम्रो के नराम्रो भन्ने छुट्याउन सक्दैनन्, त्यस्ताले पनि यस्तो काम गर्न सक्छन्,’ डा। अधिकारी भन्छन्, ‘दोस्रो भनेको यौनकुण्ठा भएका र यौन जीवनमा असन्तुष्ट व्यक्ति यस्तो अपराधमा संलग्न हुन सक्छन् ।’ लागुऔषध सेवनको कुलत भएको व्यक्ति पनि यस्ता अपराधमा संलग्न हुने गरेको प्रहरी अधिकारीको अनुभव छ । कतिपय व्यक्तिमा अरूलाई दुःख दिएर आनन्द लिने असामाजिक स्वभाव हुने र अभियुक्तसँग यस्तो समस्या भएको हुन सक्ने डा। अधिकारीको आकलन छ । ‘पृष्ठभूमिसमेत अध्ययन गरेर यस्तो समस्या पत्ता लगाउन सकिन्छ,’ उनी भन्छन्, ‘यस्ता व्यक्तिलाई मनोपरामर्शको आवश्यकता हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्