Logo
Logo

स्वस्थ रहन एक दिनमा कति पानि पिउनुपर्छ ?


दृष्टि संवाददाता



काठमाडौं । शरीरको आवश्यकताअनुसार स्वस्थ रहने गरी पानी पिउनुपर्छ । पानी हाम्रो स्वास्थ्यको लागि राम्रो भए पनि कति पानी पिउने भन्ने कुरा हामीले गम्भीर रूपमा लिनुपर्नेहुन्छ । कतिपय मानिसलाई पानी पिउन मन लाग्दैन । उनीहरूलाई पानी मीठो लाग्दैन ।

बरु तिनीहरू चिया, कफी, नरिवलको पानी र जुस पिउन रुचाउँछन् । यी पेय पदार्थले शरीरलाई चाहिने पानी उपलब्ध गराउने भए पनि यी शुद्ध पानीको विकल्प हुन नसक्ने विज्ञहरु बताउँछन् ।

पानी शरीरको मुख्य रसायन र शरीरमा उत्पादन हुने विकारयुक्त पदार्थ निकाल्ने पदार्थ हो । पानीले शरीरका जोर्नी, तन्तु, मांसपेसीदेखि कोषहरूलाई रसिलो राख्छ र सजिलोसँग चल्न सहयोग गर्छ । पानीले शरीरको तापक्रम नियन्त्रण गर्छ, कब्जियत घटाउँछ, शारीरिक प्रक्रियालाई सही राख्न सयहोग गर्छ । पानीले खाना पचाउनसमेत सहयोग गर्छ ।

एक दिनमा कति पिउने ?
स्वस्थ व्यक्तिले दिनमा दुई वा तीन लिटर पानी पिउनुपर्छ । एकजना वयस्क व्यक्तिले शरीरबाट दिनमा सरदर साँढे दुई लिटर पानी गुमाउँछ । पसिना, सास र दिसापिसाबबाट । यसरी शरीरबाट गुमेको पानी पूर्ति हुने गरी पानी पिउनुपर्छ ।

भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्समा पोषणविज्ञ डा. अञ्जली मुखर्जीले लेखेअनुसार शरीरलाई चाहिने पानीको मात्रा शरीरको तौलमा भर पर्छ । शरीरको तौल किलोग्राममा जति छ, त्यसलाई ०.०३३ ले गुणन गर्दा जति आउँछ सरदर त्यति नै लिटर पानी पिउन उचित हुन्छ । शरीरको तौल ६० किलोग्राम छ भने ६०×०.०३३.१.९८ करिब २० प्रतिदिन २ लिटर जति पानी पिउनुपर्छ । त्यही हिसाबले तौल ५० किलो छ भने १.६५ लिटर र ८० किलो भएमा साँढे दुई लिटरभन्दा बढी पानी पिउनुपर्ने हुन्छ ।

पश्चिमा मुलुकमा आठ औंस (करिब २४० मिलिलिटर) पानी अटाउने गिलासको आठ गिलास पानी (८ बाइ ८ को सूत्रअनुसार) दैनिक पिउनुपर्छ भन्ने लोकप्रिय विश्वास छ, त्यो सत्य होइन । पानीको आवश्यकता व्यक्तिपिच्छे फरक हुन सक्छ ।

पानीको मात्रा जीवनशैलीमा पनि भर पर्छ । धेरै शारीरिक श्रम नपर्ने, कुर्सीमा बसेर काम गर्ने र एसी भएको ठाउँमा काम गर्नेलाई दैनिक दुईदेखि २।५ लिटर पानी भए पुग्छ । शारीरिक श्रम पर्ने काम गर्ने सेल्सपर्सन जस्ता पेसामा भएकाहरूलाई भने तीन लिटरजति पानी जरुरत पर्छ ।

मौसम (सिजन) अनुसार पानीको मात्रा घटबढ गर्नुपर्छ । उदाहरणको लागि गर्मीको बेला पसिनाबाट शरीरको धेरै पानी गइरहेको हुन्छ । त्यसैले गर्मी महिनामा बढी र नियमित पानी खाइरहनुपर्छ । मधुमेह वा उक्त रक्तचाप नभएकाहरूले ग्लुकोज पानी र कागती पानी पनि खान सक्छन् । बिहान उठ्नेबित्तिकै सकेसम्म धेरै पानी पिउन राम्रो हुन्छ । बिहान सकेसम्म दुईदेखि चार गिलास पानी पिउन उचित हुन्छ ।

शारीरिक ब्यायाम गर्ने, गर्मी मौसममा काम गर्ने र स्तनपान गराइरहेका आमाहरूले धेरै पानी पिउनुपर्छ । स्तनपान गराइरहेका आमाहरूले आफू र बच्चालाई स्वस्थ राख्न पनि प्रशस्त पानी पिउनुपर्छ । शरीरलाई चाहिनेभन्दा बढी पानी पिउँदा मिर्गौला सुन्निने र शरीरलाई चाहिने खनिजहरूको घनत्व घटेर शरीरलाई नकारात्मक असर पर्न सक्छ । त्यसैले अनावश्यक रूपमा धेरै पानी पिइरहनु पनि उचित हुँदैन ।

प्रतिक्रिया दिनुहोस्