Logo
Logo
विचार

ओलीको चाहना एमालेको मुख्य समस्या


शम्भु श्रेष्ठ


भनिन्छ, सुतेको मानिसलाई ब्युँझाउन सकिन्छ, सुतेजस्तो अभिनय गरेका मानिसलाई ब्युँझाउन सकिँदैन । अहिले प्रधानमन्त्री केपी शर्मा ओली सुतेको अभिनय गरिरहेका छन् । त्यसैले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उनलाई ब्युँझाउन सकेका छैनन् ।

अझ माधव नेपालको नाम सुन्नासाथ ओली घुर्न थाल्छन् । उनको यही बानीबेहोराले सिंगो पार्टी तहसनहस हुने अवस्थामा पुगेको छ । तै पनि, उनले पार्टी ठिक ढंगले चलाइरहेको अभिनय गर्दैछन् । उनलाई यस्तो अभिनय गर्न जसले निर्देशित गरिरहेका छन्, तिनले नै उनलाई पुस ५ गते खाल्डोमा जाकिसके ।

फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलापछि खाल्डोबाट जमिनमा आएका उनी फेरि वैशाख ७ गते प्रतिनिधिसभा भंग गरेर खाल्डोमा जाकिए । अब त्यो खाल्डोबाट बाहिर निस्कँदा उनको अवस्था के हुन्छ भन्न सकिन्न । किनभने, दुईतिहाइ बहुमत ल्याएर इतिहासकै शक्तिशाली प्रधानमन्त्री भएका उनी आफ्नै बुद्धिले भुइँ न भाडो बने ।

उनी प्रधानमन्त्री भएदेखि अहिलेसम्म उनले कति गल्ती गरे, त्यसको हिसाब किताब जनताले राखे पनि उनले राखेका छैनन् । उनी नेकपा एमालेका मात्र प्रधानमन्त्री होइनन्, सिंगो देश र जनताका प्रधानमन्त्री हुन् । त्यसैले उनले एकपछि अर्को गल्ती दोहोर्याउँदै जानुको साटो, विगतमा गरेका गलती कमजोरी सच्याउँदै जानुपर्ने हो । कार्यकर्ताबाट नेता, नेताबाट राजनेता बन्ने गुण पनि यही नै हो ।

दुःखका साथ भन्नुपर्छ, उनी आफैँप्रति इमान्दार भएनन् । माओवादीसँग गरिएको पार्टी एकता पनि आफू प्रधानमन्त्री बन्नका लागि मात्रै रहेछ भन्ने पुष्टि भयो । जेठ २ मा फर्कन नचाहनुको अर्थ पनि आफैँ अध्यक्ष र प्रधानमन्त्रीमा टिकिरहनु हो । एकताका लागि बनाइएको कार्यदल पनि अरुलाई अल्मल्याउनु हो ।

यदि उनी आफैँमा इमान्दार भइदिएको भए अहिलेसम्म उनीसँग दुईतिहाइ मत हुने थियो । एक लोटा पानीको लागि समुद्रसम्म धाउनुपर्ने थिएन । ओलीलाई विचलनबाट रोक्न माधव नेपालहरुले अनेकौं प्रयास गरेका छन् । जेठ २ गते फर्कनु भनेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय कमिटी ब्युँताउनु हो ।

त्यो नै एमालेको शक्ति हो । तर, उनी त्यहाँ फर्कन किन चाहँदैनन् भने उनको कर्मले उनलाई सिंगो एमालेभित्र अल्पमतमा पुर्याइसकेको छ । नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय कमिटीमा उनी अल्पमतमा पर्ने डर छ, त्यसैले जेठ ३ त भनिरहेका छन्, तर त्यो दिन माओवादीसँग गरेको एकता जेठ ३ मै टिक्ने हो भने पार्टी एकता गर्दा प्रचण्डसँग गरेको सहमति कायम गर्नु उनको नैतिकता हो ।

प्रचण्डसँग पार्टी एकता गरेर सिंगो कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याएको कुरा उनले बिर्सिए पनि इतिहासले बिर्सिएको छैन । उनीमा अलिकति मात्र नैतिकता भएको भए उनले पार्टी एकता जोगाउन सक्थे । अझै पनि छलछाम गर्नमै उनी व्यस्त छन् ।

गत साता माधव नेपाललाई फोन गरेर उनले आफूलाई सहयोग गर्न आग्रह गरे । जवाफमा माधव नेपालले भने– ‘जेठ २ गते फर्कौँ भनेको तपाईंलाई नै सहयोग गर्न हो, किन तपाईं कुरा बुझ्नु हुन्न ।’ ओलीले माधव नेपालको सहयोग खोज्छन् साथ खोज्दैनन्, समस्या यही नै हो । माधव र ओलीबीचको यो समस्यामा अरुले खेलिरहेका छन् ।

जसले माधव र ओली दुवैलाई सिध्याउन खोजेका छन् । यो कुरा बुझ्न जति ढिलो भयो, त्यति नै समस्या ओलीमाथि थपिँदै जानेछ । त्यसैले एमाले एकता जोगाउने एउटै शर्त जेठ २ मा फर्कनु हो । तर, ओली मान्दैनन् । समस्या पार्टीमा होइन, एक व्यक्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्