Logo
Logo

अध्यागमनका करोडपति नासुलाई बिशेष अदालतको सफाई


दृष्टि संवाददाता

8.8k
Shares


काठमाडौं ।
सरकारी जागिरमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका नायब सुब्बा ललितकुमार झाले अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले उनलाई सोमबार सफाइ दिएको हो ।


झाको एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले १५ असार ०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनकी श्रीमती सुचितादेवी झालाई समेत आयोगले प्रतिवादी बनाएको थियो । दुई वर्षपछि दुवैले सफाइ पाएका छन् ।

झा सार्वजनिक सेवामा प्रवेश गरेको ०४० साल असारदेखि ०७६ जेठसम्मको उनको आयव्ययको आयोगले छानबिन गरेको थियो । जसक्रममा उनले दुई करोड २८ लाख ६४ हजार दुई सय आठ रुपैयाँ सम्पत्ति वैध रूपमा आर्जन गरेको देखिएको थियो । तर, उनीसँग तीन करोड ८५ लाख ४३ हजार दुई सय ३४ रुपैयाँबराबरको सम्पत्ति भेटिएपछि स्रोत नखुलेको सम्पत्ति जफत गरी त्यहीअनुसार जरिवाना र कैदको माग राखी आयोगले मुद्दा दायर गरेको थियो ।
अनुसन्धान सुरु भएको समयमा उनी विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत थिए । अध्यागमनमै उनले अकुत कमाएको भनेर आयोगमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्