Logo

प्रहरीबाटै एसईईको परिक्षा बाहिरिएको खुलासा, दुई प्रहरी पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २० चैत ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र प्रहरीबाटै बाहिरिएको खुलेको छ । गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानको जिम्मेवारी सिआईबीलाई दिइएको थियो ।

प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टाछुट्टै छानबिन गरेका थिए । दुवै समितिले अनुसन्धान जारी रहेको बताइरहेका बेला सीआईबीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो ।

उच्च प्रहरी स्रोतका अनुसार अनुसार सोमबार बिहान काठमाडौं ल्याइएका दुवैलाई हतकडी लगाइएको छ । उनीहरू दुवैलाई दिनभर सीआईबी कार्यालयमा राखेर सोमबार साँझ प्रहरी प्रधान कार्यालयअन्तर्गतको एक नम्बर गणमा र्पुयाइएको थियो । नियन्त्रणमा लिइएकामध्ये ब्रह्मदेवको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा दरबन्दी रही इलाका प्रहरी कार्यालय कल्याणपुरमा काजमा खटिएको खुलेको छ ।

सीआईबीले नियन्त्रणमा लिएका दुई प्रहरीमध्ये एक परीक्षार्थी पनि हुन् भने अर्का प्रश्नपत्रको तस्बिर खिच्न संलग्न थिए । नजिकका साथीसमेत रहेका उनीहरूबाटै प्रश्नपत्र बाहिरिएको पर्याप्त आधार भेटिएको एक प्रहरी अधिकारीले बताए । ती प्रहरी अधिकारीले केही तथ्यगत र उनीहरूबाट बाहिरिएको प्रश्नपत्र अन्य धेरै परीक्षार्थीमा र्पुयाउने काममा क–कसको संलग्नता थियो भन्ने पुष्टि गर्न थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्