Logo
Logo

प्रहरीमा लगानी बढाउनुपर्छः गृहमन्त्री थापा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २० चैत ।
गृहमन्त्री रामबहादुर थापा‘बादल’ले देशमा आन्तरिक सुरक्षा महत्वपूर्ण भएकाले प्रहरीमा थप लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार गृहमन्त्रालयमा आर्थिक वर्ष २०७५÷७६ को दोस्रो चौमासिक सम्मको कार्यप्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले प्रहरीलाई बजेट बढाउनुपर्ने बताएका हुन् । उनले भने ‘अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संख्या आवश्यकता भन्दा कम नै छ । कि प्रहरीको संख्या थप्नुपर्छ कि उनीहरुलाई आधुनिकिकरण गर्न सके कम जनशक्तिबाटै काम चलाउन सकिन्छ । ’ सुरक्षा र प्रविधिमा लगानी गरेका मुलुकलेमात्रै विकासमा फड्को मारिरहेको भन्दै विकासको लक्ष्य हासिल गर्न सुरक्षामा लगानी गर्नु अनिवार्य रहेको उनको भनाई छ ।


उनले पूँजीगत खर्च बढाउन पनि निर्दशेन दिएका छन् । बैठकमा कम भएको विवरण पेश भएको थियो । उनले यो प्रवृत्तीलाई सच्याउन निर्देशन दिएका छन् ।
साथै अनुगमन र मुल्यांकन प्रणालीको विकास गर्न मन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिएका छन् । थापाले कामहरुको नियमित रुपमा अनुगमन गरी काम नगर्नेहरुलाई कारवाही गर्न निर्देशन दिए ।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले पूँजिगत खर्च कम खर्च हुनुको कारण खौज्दै समाधान निकाल्न निर्देशन दिए ।
बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, कारागार विभाग, प्रहरी किताबखानालगायतका निकायले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए । बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्