Logo
Logo

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो


दृष्टि संवाददाता


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आइपिओ) आज (असार २४ गते)देखि खुलाएको छ । अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन कम्पनीले गरेको हो ।

जसमध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुने कम्पनीले जनाएको छ । कम्पनीको आइपिओमा २८ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल रहेको छ ।

कम्पनीले इक्रा नेपालबाट ट्रिपल बी रेटिङ प्राप्त गरेको हो । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ । इक्रा नेपालले एएए देखि डीसम्म रेटिङ प्रदान गर्दछ। जसले एएए सबैभन्दा राम्रो र डी सबैभन्दा कमजोर संकेत गर्दछ ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । सिडिएससीको अनलाइन माध्यम मेरो सेयरमार्फत् वा आफ्नो खाता रहेको बैंक शाखाबाट पनि आवेदन भर्न सकिनेछ ।

नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु, ज्योति र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन् । शुलभ अग्रवाल, शेखर गोल्छा, शाहिलकुमार अग्रवाल, संदिपकुमार अग्रवाल लगायत संस्थापक छन् ।

आइएमई, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ। यी कम्पनीहरूले पनि क्रमश आइपिओ जारी गर्नेछन् ।

नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको यो पछिबाट खुलेको जीवन बीमा कम्पनी हो । संचालनमा आइरहेको यस कम्पनीले चैत मसान्तसम्म खुद ८ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क ५ अर्ब रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४६ पैसा छ भने प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा छ । कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेपछि भने प्रतिसेयर आम्दानी घट्नेछ । यसमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ ।

प्रतिक्रिया दिनुहोस्