Logo
Logo

सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभिएसँगै एकीकृत कारोबार सुरु


दृष्टि संवाददाता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त सिर्जना फाइनान्सलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति पश्चात प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । एक विशेष समारोहबीच सिटिजन्स बैंक इन्टरनेसनलका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरे ।२०७८ साल असार २५ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ । प्राप्ती पश्चात बैंकको कुल शाखा १८९ हुनेछ ।

यस प्राप्तिपछि बैंकको ग्राहक सङ्ख्या करिब १२ लाख पुगेको छ । हाल सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्सको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरु संचालनमा आएका छन् ।

सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ती पछिको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ ।

उक्त कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे ।

उनले मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्राप्तीबाट सिर्जना फाइनान्सका ग्राहकहरुले अझ बढी स्तरिय र परिस्कृत वित्तीय सेवाहरु प्राप्ती पछि बनेको सिटिजन्स बैंकको १८९ वटा शाखाहरुबाट प्राप्त गर्ने उनले बताए ।

त्यसैगरी साबिकको सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयेश प्याकुरेलले सिर्जना फाइनान्सका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंकमा अझ बढी सुरक्षित र उज्वल हुने बताए ।

बैंकले मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई अंगिकार गर्दै यस अगावै नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त संस्था पिपल्स फाइनान्स, नेपाल हाउसिङ एण्ड मर्चेण्ट फाइनान्स, प्रिमियर फाइनान्स र नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्