Logo
Logo
देउवाको नेतृत्वमा सरकार

माधव नेपाल, जसपा र जनमोर्चाद्धारा मन्त्री बन्न अस्वीकार


दृष्टि संवाददाता



काठमाडौं । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा आज नै सरकार बनाउने निर्णय गरेको छ । सोमबार कोटेश्वरमा बसेको बैठकले सरकार गठनका लागि आवश्यक तयारी गर्ने र सरकार बनाउने प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले सोमबार गरेको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलालाई पाँचदलीय गठबन्धनले स्वागत गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि कोटेश्वरमा बसेको बैठकले प्रतिनिधिसभाको पुनःस्थापनाका लागि भएका आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिएको छ ।

अदालतले मङ्गलबार साँझसम्म प्रधानमन्त्रीमा कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएका सन्दर्भमा पुनः शीर्ष नेताको बैठक बसेर आवश्यक निर्णय गरिने कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए । उनले मङ्गलबार सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने र सबै दललाई समेटेर अगाडि बढ्नेबारेमा नेताहरुबीच कुराकानी भएको बताए ।

बैठकपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालतले गरेको फैसला स्वागत गर्दै देशका सामु रहेका समस्या समाधान गर्ने गरी गठबन्धन अगाडि बढ्ने विश्वास व्यक्त गरे । नयाँ सरकारलाई प्रभावकारी बनाउँदै देश र जनताका समस्यालाई समाधान गर्ने गरी आफूहरु अगाडि बढ्ने जसपा नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईको भनाई थियो । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले प्रतिनिधिसभा पुनःस्थापना प्रक्रियामा सहभागी सबैलाई समेटेर अधिकतम सहमति कायम गरी अगाडि बढ्ने विषयमा छलफल भएको बताए ।

गठबन्धनबाट बाहिरिए नेपाल
सर्वोच्च अदालतले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी गठबन्धनबाट अलग भएका छन् । अदालतले सोमबार जारी गरेको परमादेशपछि बसेको गठबन्धनको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले परिस्थिति बदलिएकाले गठबन्धनबाट अलग भएको बताएका हुन् ।

‘लोकतन्त्र, गणतन्त्र, संघीयता र अग्रगमनका लागि हुने जुनसुकै लडाइँमा मेरो सधैं साथ रहन्छ तर अहिले हाम्रो पार्टी फरक परिस्थितिमा एकताको प्रक्रियामा छ र त्यसअनुसार काम अगाडि बढी पनि रहेको छ, त्यसैले अब हाम्रो पार्टी नेकपा एमालेले जे निर्णय गर्छ, त्यसअनुसार पार्टी अगाडि बढ्छ, फरक तरिकाले अगाडि बढ्ने भन्ने हुँदैन, तपाईंहरूले एमालेसँग पनि मुलुकको हितका निम्ति छलफल र सहकार्यको कोसिस गर्नुहोला’, बैठकमा नेपालले राखेको भनाइ उद्धृत गर्दै एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले भने ।

बैठकपछि पूर्वप्रधानमन्त्री नेपालको भनाइ उद्धृत गर्दै एमाले नेता पन्तले भने, “संविधान, लोकतन्त्र र विधिका लागि म सधैं लड्दै आएको छु । मेरो साथ त्यसमा सधैँ रहन्छ । फैसलापछि परिस्थिति बदलिएको छ । मेरो पार्टीमा पनि एकताको प्रक्रिया अगाडि बढेको छ ।” बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत नेताको उपस्थिति थियो ।

को-को बन्दैछ सरकारमा सहभागी ?
पाँच दलीय गठबन्धनको बैठकमा सहभागी नेताहरुले नेता नेपालले जस्तै जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले पनि आफ्नो पार्टी आज (मंगलबार) नै सरकारमा सहभागी हुने स्थिति नरहेको बताएका छन् । साउन ७ गते पछिमात्रै सरकारमा जाने परिस्थिति बन्ने जसपाका नेताहरुले देउवालाई जवाफ दिएका हुन् ।

यस्तै बैठकमा ‘वेइटिङ प्राइमिनिस्टर’ देउवाले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पनि मन्त्री बन्न प्रस्ताव गरेका छन् । देउवाको प्रस्तावमै सही थप्दै माधव नेपाल र प्रचण्डले पनि पौडेललाई मन्त्री बन्न आग्रह गरेको स्रोतको भनाई छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यसअघि नै उपप्रधानमन्त्री बनिसकेकाले जनमोर्चा पनि सरकारमा सहभागी बन्दा फरक नपर्ने नेताहरुले बताएका थिए । तर, पौडेलले यसबारे पार्टीमा कुनै निर्णय नभएका कारण आजको सपथ ग्रहणमा मन्त्री नबन्ने देउवालाई जवाफ दिएकी छन् ।

स्रोतका अनुसार माधव नेपाल, उपेन्द्र यादवको जसपा र राष्ट्रिय जनमोर्चाले तत्कालै मन्त्री बन्न अस्वीकार गरेपछि अब काँग्रेस र माओवादीबाट कम्तिमा एक/एकजना मन्त्री मात्रै राखेर मंगलबार देउवाले प्रधानमन्त्रीमा सपथ लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्