Logo
Logo

महाकाली नदीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु


दृष्टि संवाददाता



कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो ।

बालिका नदीमा डुबेको खबर पाउना साथ बोर्डर आउट पोष्ट दोधरा चाँदनीबाट कृष्णबहादुर बोहराको कमाण्डमा १० जनाको टोली र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरतराज गिरीको कमाण्डमा रहेको पाँच जनाको टोली खोजतलासमा जुटेको थियो । नदीमा खोजतलास गर्दा दुई किलो मिटर टाढा नदीमा डुबिरहेको अवस्थामा शव फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधरा चाँदनीमा राखिएको छ ।

लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ
लागुऔषध खैरो हिरोइनसहित बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारबाट सशस्त्र प्रहरीले दुई जनालाई बुधबार साँझ पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर ऐरको कमाण्डमा रहेको टोलीले वेदकोट नगरपालिका–२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँ बस्ने अर्का १९ वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको साथबाट तीन दशमलव ७४० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्