Logo
Logo

नयाँ आर्थिक वर्ष सुरू, गत वर्ष ११ खर्ब ८० अर्ब मात्रै खर्च


दृष्टि संवाददाता


काठमाडाैं । गत आर्थिक वर्ष २०७७/०७८ मा ११ खर्ब ८० अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थ सचिव शिशिरकुमार ढुंगानाले आर्थिक वर्ष २०७७/०७८ मा ११ खर्ब ८० अर्ब खर्च भएको जानकारी दिएका हुन्।

अर्थसचिव ढुंगानाले चालु खर्चतर्फ ८ खर्ब ५१ अर्ब खर्च भएको बताए। चालु खर्चको अनुमान ९ सय ४९ अर्ब रहेको र संशोधित अनुमान भने ८ खर्ब ६७ अर्ब रहेको उनले जानकारी दिए। त्यस्तै पुँजीगत खर्च तर्फ ३ खर्ब ५२ अर्ब अर्ब रुपैयाँ विनियोजन गरिएको र संशोधित अनुमान २ खर्ब ५१ अर्ब रुपैयाँ रहेकोमा २ खर्ब २८ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको उनले बताए।

वित्तिय व्यवस्थापन अन्र्तगत कुल १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको र संशोधित अनुमान १ खर्ब ४५ अर्ब रुपैयाँ रहेकोमा कुल एक खर्ब रुपैयाँ मात्र खर्च भएको ढुंगानाले बताए।

त्यसैगरी राजस्वको सुरु अनुमान १० खर्ब ११ अर्ब रुपैयाँ र संशोधित अनुमान ९ खर्ब ५९ अर्ब रहेकोमा राजस्वमा मात्रै ९ सय ३८ अर्ब संकलन भएको अर्थसचिव ढुंगानाले बताए।

त्यसमध्ये कर राजस्व ८ सय ७० अर्ब रुपैयाँ र गैरकर राजस्व ६८ अर्ब रुपैयाँ रहेको उनले बताए। त्यसबाहेक अन्य प्राप्ति मार्फत् ४० अर्ब रुपैयाँ रहेको उनले बताए।

अर्थसचिव ढुंगानाले १ खर्ब ६२ अर्ब ६५ करोड रुपैयाँ वैदेशिक सहायता परिचालन हुन सकेको पनि बताए। उनले २ खर्ब २४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्