Logo
Logo

कामना सेवाको खुद नाफा करिब ६ गुणा बढ्याे


दृष्टि संवाददाता


काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६ गुणा बढेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ सय ८४ दशमलव ९० प्रतिशत अर्थात ५ दशमलव ८४ गुणा बढी हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ करोड ९७ लाख १९ हजार रुपैयाँ यस्तो नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र खुद कमिशन तथा फि आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो ।

अघिल्लो आर्थिक वर्षमा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा ४३ करोड ४५ लाख रुपैयाँ धनात्मक भएको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १६ पैसाबाट बढेर २६ रुपैयाँ ४० पैसा पुगेको छ । त्यसैगरी, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसाबाट बढेर १४८ रुपैयाँ ६१ पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्