Logo
Logo

कामना सेवा विकास बैंकको नाफा करिब ६ गुणाले बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । कामना सेवा विकास बैंकले ४ सय ८४.९० प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ५८ करोड रुपैयाँ बढी खुद नाफा थप गरेको हो ।

अघिल्लो आव असार मसान्तसम्म बैंकले ११ करोड ९७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा बैंकले ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्षको तुलनामा करिब ६ गुणा खुद नाफा बढेकाे हाे ।

बैंकले गत आवको वित्तीय विवरण प्रकाशित गर्दै सो अवधिमा ४३ करोड ४५ लाख २१ हजार रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको उल्लेख गरेको छ । खुद ब्याज आम्दानी र खुद कमिशन तथा फि आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २२.८३ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ५५.८७ प्रतिशत घटेको छ । जसले गर्दा सञ्चालन मुनाफा ३३४.२२ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १६ पैसाबाट बढेर २६ रुपैयाँ ४० पैसा पुगेको छ। त्यसैगरी, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसाबाट बढेर १४८ रुपैयाँ ६१ पैसा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४.४० प्रतिशत, जगेडा कोष ९४.२० प्रतिशत, निक्षेप ३९.३२ प्रतिशत र कर्जा ४९.७७ प्रतिशत बढेको छ।

यसैगरी, बैंकले गत आवको असार मसान्तसम्म ४४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ४९ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्