Logo
Logo

कता हरायो ३ लाख डोज खोप ?


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन । नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन् । खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख ६० हजार ७३४ छ । पहिलो र दुवै डोज लगाएकाको संख्या जोड्दा २२ लाख ८९ हजार २१८ डोज खोप प्रयोग भएको देखिन्छ ।

भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको १ लाख डोजको हिसाब नगर्दा पनि नेपालले भारत सरकारबाट अनुदानमा १० लाख, सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख र कोभ्याक्सअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी कुल २३ लाख ४८ हजार कोभिसिल्ड डोज खोप पाएको थियो । भायलका हिसाबले नेपालले कुल २ लाख ३४ हजार ८०० भायल खोप प्राप्त गरेको हो । नेपाली सेनाले प्रयोग गरेको १ लाख डोज खोपको तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन ।

भारत सरकारद्वारा सेरम इन्स्टिच्युटद्वारा उत्पादित १० लाख डोज कोभिसिल्ड खोप गत माघमा प्राप्त भएपछि नेपालले खोप अभियान सुरु गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार गत जनवरी २७ देखि फेब्रुअरी २२ सम्म ४ लाख ५८ हजार ९६२ डोज, मार्च ७ देखि २३ सम्म १३ लाख ६९ हजार ५२२ डोज गरी १८ लाख २८ हजार ४८४ डोज खोप लगाएको देखिन्छ ।

यसैगरी २० देखि २८ अप्रिल तथा २५ देखि ३० मेसम्म ४ लाख ६० हजार ७३४ जनालाई दोस्रो खोप डोज उपलब्ध गराएको देखिन्छ। यसरी पहिलो र दोस्रो डोजसहित नेपालमा कुल २२ लाख ८९ हजार २१८ डोज कोभिसिल्ड खोप लगाएको देखिन्छ ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्