Logo
Logo

एमाले विवाद नथामिने संकेत


दृष्टि संवाददाता


काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेभित्रको विवाद थामिने कुनै संकेत देखिएको छैन । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टी अनुशासन उल्लंघन गरेका भन्दै २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि विवाद यथावत् रहेको सन्देश प्रवाहित भएको छ ।

एमाले केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम र प्रेमबहादुर आलेलाई स्पष्टीकरण सोधिने भएको छ । त्यस्तै धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनसँग पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार विघटित कार्यदलले पेस गरेको एकताको १० बुँदे सहमति बैठकले अनुमोदन गरेको छ । एमालेको केन्द्रीय कमिटी बैठकले २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि नेपालसहितका सांसद छलफलमा जुटेका थिए । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार बन्ने सरकारलाई विश्वासको मत दिँदा दलीय ह्विप नलाग्ने व्याख्या गरेको र पार्टीले कारबाही वा स्पष्टीकरण सोध्न नपाउने नेपाल पक्षका सांसदको तर्क छ ।

र्टी निर्देशन नमाने पनि देउवालाई विश्वासको मत नदिने सांसदलाई भने एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छैन । भीम रावलले मतदानअघि राजीनामा घोषणा गरेका थिए । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, राजबहादुर बुढा, यज्ञराज सुनुवार, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट र झपट रावल मतदानपूर्व संसद् बैठकबाट बाहिरिएका थिए ।

वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि दिल्लीमा छन् । उनले दिल्लीबाटै देउवालाई विश्वासको मत दिन आग्रह गरेका थिए ।, यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्