Logo
Logo

निगममा चोरको आरोप प्रत्यारोप


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा परिणत गरेर कौडीको भाउमा व्यापारीलाई बिक्री गर्ने सञ्चालक समितिको निर्णय सार्वजनिक भएपछि निगमका कर्मचारीहरुले निगम बेच्ने निर्णयका विरुद्ध दुई सातादेखि आन्दोलन गर्दै आएका छन् । ‘डिमप्रकाश पौडेल चाहिँदैन, निगम बेच्न पाइँदैन’ भन्ने नारासहित तीनवटा युनियनले दिनहुँ विरोध प्रदर्शन जारी राखेका छन् ।

निगम कर्मचारी संघले राखेका मागहरुका विषयमा कर्मचारीहरुसँग वार्ता गर्नुपर्नेमा महाप्रबन्धक पौडेल प्रहरी बोलाएर कर्मचारी दमनमा उत्रिएका छन् । यसले गर्दा निगम अस्तव्यस्त भएको छ । यो समस्यालाई समयमा सम्बोधन गरिएन भने सिंगो अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित हुनसक्ने निगम कर्मचारीले बताएका छन् ।

निगमको सम्पूर्ण शेयर व्यापारीलाई बेच्ने उद्देश्यले महाप्रबन्धक पौडेलले रातारात कम्पनीमा लैजाने निर्णय गरेका हुन् । तर ‘जो चोर उसकै ठूलो स्वर’ भनेझै आन्दोलनकारी कर्मचारीलाई उल्टै चोरको आरोप लगाएका छन् । यसको समाधान पौडेलको बहिर्गमन हो । पौडेललाई निगम बेच्नकै लागि बालुवाटारले महाप्रबन्धक बनाएको कुरा ओली बहिर्गमनसँगै सञ्चालक समितिबाट कम्पनीमा लैजाने निर्णयबाट पनि स्पष्ट भएको छ ।

ओलीको सत्ता बहिर्गमनसँगै निगम जोगाउने जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा आएको छ । निगममा अहिले अध्यक्ष पद खाली छ । प्रधानमन्त्री देउवाले महाप्रबन्धक पौडेललाई हटाएर तुरुन्त कार्यकारी अध्यक्ष नियुक्त गर्नुपर्ने आन्दोलनकारी कर्मचारीको माग छ । त्यसो भयो भने मात्र निगम सुधारको अपेक्षा गर्न सकिन्छ । निगमसँग भएका जहाज ग्राउण्डेड गरेर निजी क्षेत्रसँग कमिशन खाने व्यवस्थापन तुरुन्त विस्थापित गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्