Logo
Logo

सिमेन्ट उद्योगका कारण खानेपानीमा ‘लेदो’, बस्ती उजाड


दीपक बोहरा


  • दीपक बोहरा


लमही, २४ चैत । दाङको सोनापुर सिमेन्टका कारण खानेपानीमा लेदो आउने गरेको छ । आकासबाट पानी परेको समयमा उपभोक्ताको धारामा लेदोसहितको पानी जाने गरेको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रदीप गौतमले बताए ।
‘एक हप्ताअघि पानी पर्दा पनि लेदो आएको थियो, बर्षात्को समयमा लेदो मात्रै जान्छ’, उनले भने, ‘वर्षातको समय नजिकिँदै गएकाले हामी चिन्तित भएका छौँ ।’ अहिले तुलसीपुरको सोनापुर सिमेन्ट उद्योगले पानीको मुहान माथिबाट चुनढुङ्गा उत्खनन गर्ने र त्यहीमाथिको सडक प्रयोग गरेर चुनढुंगा ल्याउन तथा लैजान नियमित टिप्परहरु आवत जावत गर्ने भएकाले यस्तो समस्या देखिएको अध्यक्ष गौतमले जानकारी दिए ।
यस विषयमा पटक–पटक सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नगरेको समेत उनले गुनासो गरे । ‘केही समयअघि लेदोसहितको पानी बोकेरै सिडिओ कार्यालय पनि पुग्यौँ’, उनले भने, ‘तर कुनै पनि निकायबाट सुनुवाइ भएन ।’ त्यहाँको मुहानको पानी प्रशोधनका लागि प्रविधि जडान गरिएको भए पनि धेरै लेदो भरिँदा त्यसबाट पानी बाहिर पोखिने र त्यही लेदोसहितको पानी मुहान हुँदै उपभोक्ताको घर–घरमा पुग्ने गरेकोे अध्यक्ष गौतमको भनाइ छ ।
२०७० मा सरकारको अनुदानमा करीब रु एक करोड लगानीमा निर्माण भएको उक्त प्रविधिले पनि काम नगर्ने भएपछि थप प्रविधि जडान गर्नुपर्ने उनले बताए । लेदो पस्न नदिन अर्को प्रविधि जडान गर्न यसअघि नै लागत स्टिमेट तयार गरेको समेत उनले जानकारी दिए । ‘हामीले उक्त प्रविधि जडानका लागि रु ९५ लाख लागत स्टिमेट तयार पारेका छौँ’, उनले भने, ‘तर यसमा सिमेन्ट उद्योग, सडक, खानेपानी, उपमहानगरपालिले कुनै चासो नदेखाएपछि काम अघि बढ्न सकेको छैन ।’
चुनढुंगा उत्खननस्थलसम्म सडक ट्र्याक खोल्दा उत्पन्न भएको ढुङ्गा, माटोजन्य पदार्थले लेदो भरिन थालेको भन्दै यसमा सडक, खानेपानी, तथा उपमहानरपालिका पनि जिम्मेवार हुनुपर्ने उनले बताए । तुलसीपुरको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा अहिले तुलसीपुरका वडा नं १६, १७, १८ र १९ का करीब १७ हजारभन्दा बढी नागरिकलाई पानी खुवाइँदै आएको छ । संस्थाका अध्यक्ष गौतमका अनुसार तीन हजारभन्दा बढी घरमध्ये निजी, सार्वजनिक, संस्थागत गरी एक हजार दुई सयभन्दा बढी धाराबाट पानी वितरण गरिएको छ ।
‘सिमेन्ट उद्योगलाई पनि चुनढंगा चाहिन्छ, तर पानीलाई पनि चुनढुंगा चाहिन्छ’, उनले भने, ‘विज्ञहरुले पनि माथिको चुनढुङ्गा उत्खननले पानीको मुहान सुक्न सक्ने बताउँदै आएका छन् ।’ तीनवटा मुहानबाट पानी आइरहेको उक्त संस्थाका दुईवटा मुहान सुकेमा उपभोक्तालाई कसरी पानी पु¥याउने भन्ने चिन्ता रहेको उनले बताए ।
वडा नं १९ बाँसगढीमा पानी शुद्धीकरणका लागि फिल्टर च्याम्बर ट्याङ्की निर्माण गरिएको भए पनि पहिलेको कार्यसमितिले संरक्षणमा ध्यान नदिँदा यस्तो समस्या देखिएको सचिव विनयकुमार पोखरेलले बताए । अर्कोतर्फ मुहानबाट कार्यलयसम्म आउने १२.६ किलोमिटर पाइप निर्माण भएको ३५÷४० वर्ष पुरानो भएकाले त्यसमा चुनढुङ्गा जमेको भए पनि त्यसलाई सरसफाइ गर्न समितिले नै ध्यान दिनुपर्ने उनले बताए ।
त्यस्तै उपभोक्ताको घरमा जाने ४६ किलोमिटर पाइप पनि मर्मत गर्नुपर्ने अवस्थामा रहेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने उहाँले बताए । अर्कोतर्फ रोल्पाका दुईवटा मुहानबाट पानी ल्याइएको भए पनि ती मुहानहरु खानेपानी संस्थाको नाममा नभएकाले कुनै बेला पनि रोल्पाले आफ्नो पानीको मुहान जफत गर्न सक्ने भन्दै अन्य खानेपानी मुहान संरक्षणमा ध्यान दिनुपर्ने उनले जानकारी दिए ।
वातावरण मूल्यांकनअनुसार काम गर्न आग्रह
तुलसीपुर नगर प्रमुख घनश्याम पाण्डेले वातावरणीय प्रभाव मूल्यांकनअनुसार चुनढुंगा उत्खनन गर्न सिमेन्ट उद्योगलाई निर्देशन दिएका छन् । ‘इआइए र आइइएअनुसार मात्रै उत्खनन गर्नुस्’ उनले भने, ‘साथै जनताको स्वास्थ्य र वातावरणलाई पनि ध्यान दिनुस् ।’ उनले अनुगमन गर्ने निकायले पनि स्वतन्त्रपूर्वक गर्नुपर्ने तथा सामुदायको आवश्यकताका आधारमा उद्योग चल्नुपर्ने बताए । उत्खनन गर्दा ढुङ्गा खस्ने अवस्था रहने भन्दै उनले चारैतिर ग्याबिन तार राख्न निर्देशन दिए ।
विवादरहित बनाउने उद्योगको भनाइ
सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठलले उद्योग विवादरहित तरिकाले सञ्चालन गर्न चाहेको बताए । अहिले मापदण्डअनुसार नै सञ्चालन भएको भए पनि खानेपानीका सन्दर्भमा केही टीकाटिप्पणी हुने गरेकाले समस्या समाधान गर्न तयार रहेको उनले जानकारी दिए ।
उडाज भयो बस्ती
कुनै समय चहल–पहल हुने बस्ती अहिले भने उजाड भएको छ । सिमेन्ट उद्योगले त्यस स्थानबाट चुनढुङ्गा उत्खनन गर्न थालेपछि बस्ती नै विस्थापित भएको छ । रोल्पा रुन्टिगडी गाउँपालिका–६ गोदेमा पर्ने त्यस स्थानमा डेढ वर्ष अघि ५०÷५५ परिवार बस्ने भए पनि अहिले भने घरको अवशेषहरु समेत रहेका छैनन् । अहिले त्यस स्थानमा उद्योगका डोजरले चुनढुगा निकालिरहेका हुन्छन् । त्यहाँका बासिन्दाले रु एक लाख रुपैयाँ प्रति रोपनीमा जग्गा बेचेर दाङतिर झरेका हुन् ।
विद्यालय बन्द
बस्ती नै विस्थापित भएपछि त्यहाँ नजिकै रहेको विद्यालय पनि बन्द भएको छ । अहिले विद्यालयका ती भवनहरुमा सोनापुर सिमेन्ट उद्योगले आफ्नो सम्पर्क कार्यालय खडा गरेको छ । तुलसीपुर–१९ छिल्लीकोटका विद्यार्थी पनि त्यहाँ पढ्न जाने गरेका भए पनि विद्यालय बन्द भएपछि करीब एक घण्टा हिँडेर अर्को विद्यालय पुग्नुपर्ने अवस्था रहेको स्थानीयवासीले गुनासो गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्