Logo
Logo

ऐतिहासिक दस्तावेज नष्ट हुने खतरा


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती)मा रहेका राणाकालीन दस्तावेजको उचित संरक्षण हुन सकेको छैन । निजामती थमौती, सैनिक कमान्डरीसम्बन्धी मिसल, सेनासम्बन्धी पुराना इस्तिहारलगायतका सामग्री किताबखानामा छ । २०७२ सालको भूकम्पले हरिहर भवन भत्किएपछि त्यहाँ रहेका ऐतिहासिक दस्तावेजलाई त्यही परिसरमा प्रिफ्याबको संरचनाभित्र राखिएका छन् ।

तिनलाई सुरक्षित राख्न उपचार विधि प्रयोग गरिएको छैन । यसले गर्दा कतिपय दस्तावेज धुजाधुजा भइसकेको छ भने ओसले गर्दा कतिपयमा लेखिएका अक्षर मेटिन थालिसकेका छन् । चिस्यानले गर्दा तिनलाई मोड्न प्रयोग गरिएका छाला कुहिन थालिसकेका छन् भने धेरैका अक्षर उड्न थालेको अवस्था छ ।

कतिपय इस्तिहारलाई मुसाले खाएको छ । खोजकर्ताहरूका लागि त्यहाँ भएका दस्तावेज महìवपूर्ण स्रोतका रूपमा प्रयोग हुन सक्दछ । किताबखानाका महानिर्देशक नेत्रप्रसाद सुवेदीले ती अभिलेख संरक्षण गर्ने दायित्व आफूहरूको भएको बताउँदै भन्नुभयो, “यतिसम्म सुरक्षित राख्ने प्रयास गरेका छौँ । तैपनि चिस्यान लगायतका समस्या छन् ।

दीर्घकालीन रूपमा यिनलाई जोगाउन संरक्षण गर्ने निकायसँग सहकार्य जरुरी देखिएको छ । त्यसैले संरक्षण गर्ने निकायलाई हस्तान्तरण गर्न तयार छौँ ।” वि.सं.२००२ सम्मको निजामती थमौती (कर्मचारी सिटरोल) राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । त्यसपछिका सिटरोल किताबखानामा राखिएका छन् । राणाकालीन निजामती थमौती राखिएको कोठामा ०१६/१७ सालसम्मका सिटरोल राखिएका छन् । २००२ सालभन्दा अगाडिका कतिपय निजामती थमौतीका ढड्डा पनि किताबखानामा छ । सो कोठामा पुराना किताबका साथै स्थान अभावका कारण कर्मचारीहरूको सम्पत्ति विवरणका खाम पनि राखिएका छन् ।

त्यो बेलाका सैनिकका सिटरोल, सेनासम्बन्धी विभिन्न इस्तिहार, राणाकालीन कर्मचारीहरूका तस्बिर आदि पनि फेला पर्छ । केही वर्षअघि तिनलाई राष्ट्रिय अभिलेखालयमा ल्याउने लगभग तयारी भइसकेको थियो तर किताबखानाका तत्कालीन महानिर्देशकको सरुवा भएपछि सो योजना अगाडि बढ्न सकेको थिएन । केही वर्षअघि एक जना अन्वेषकले हरेक दिन किताबखानामा पुगेर सात दशकअघिका ती सिटरोललाई सिलसिलेवार रूपमा राखिदिएका थिए ।

अभिलेखालयका निमित्त महानिर्देशक शौभाग्य प्रधानाङ्गले किताबखानाबाट निवेदनसहित संरक्षण गरिदिन आग्रह भएमा तत्कालै तिनलाई अभिलेखालयमा ल्याइने बताउनुभयो । “हामीले पहिले पनि ती हामीलाई दिनुहोस् भनेर मागेका थियौँ । दिन तयार हुनुभएमा यहाँ ल्याएर सुरक्षितसाथ राखिदिनेछौँ” उहाँले भन्नुभयो । अभिलेखालयमा रहेका राणाकालीन निजामती थमौतीलाई २० देखि २४ डिग्री सेन्टिग्रेड र ४० देखि ४५ प्रतिशत आद्र्रतामा राख्ने गरिएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्