Logo
Logo

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितमै हुने निर्णय


दृष्टि संवाददाता


काठमाडौं । कोभिड १९ उच्च जोखिमका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितमै हुने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा साउन ३१ गतेदेखि भदौं ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।

परीक्षालाई स्वास्थ्य सुरक्षाको हिसाबले सुरक्षित बनाउन बोर्डले शिक्षा मन्त्रालयसँग परीक्षामा सहभागिता जनाउने विद्यार्थीलाई उच्च प्राथमिकतामा राखी कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न अनुरोध गरेको छ ।

बिहान ११ बजेदेखि २ बजेसम्म तीन घण्टा सञ्चालन हुने परीक्षामा विद्यार्थीले सय नम्बरकै लिखित परीक्षा दिनुपर्ने छ । ‘देशभरिका तीन लाख ७५ हजार परीक्षार्थीको परीक्षा होम सेन्टरबाटै हुन्छ,’ अर्यालले भने, ‘परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णपालना गराइने व्यवस्था गरिएको छ ।’

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यसपटक प्रश्नपत्र अनलाइन र अफलाइन दुवै माध्यमबाट पठाइने बताए । अनलाइन पहुँच भएका केन्द्रमा परीक्षाकै दिन प्रश्नपत्र इमेल वा अन्य विद्युतीय माध्यमबाट पठाइने व्यवस्था गरिएको उनले जनाए ।

‘परीक्षार्थीलाई सरकारले परीक्षाअगावै कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न बोर्डले शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयसमक्ष अनुरोध पठाएको छ,’ अध्यक्ष पौडेलले भने, ‘दुर्गमका परीक्षा केन्द्रमा छापिएका प्रश्नपत्र नै पठाउनले व्यवस्था बोर्डले गरेको छ । परीक्षा हलमा पनि एउटा बेन्चमा एकजना विद्यार्थी मात्र बस्ने व्यवस्था गरिएको छ  । कोभिडका कारण परीक्षा दिन नसक्ने विद्यार्थीलाई प्रमाणको आधारमा पुनः परीक्षाको व्यवस्था गरिएको छ ।’

देशभरि चार हजार तीन सय ३५ माध्यामिक विद्यालयहरूमा कक्षा ११ र १२ चलेका छन् । त्यही भएर यसपटक चार हजार तीन सय ३५ परीक्षा केन्द्र तोकिएको छ । ‘सतप्रतिशत नम्बरका लागि लिखित परीक्षा हुन्छ,’ अध्यक्ष पौडेलले भने, ‘२५ नम्बरको प्रयोगात्मक परीक्ष विद्यालयले नै लिन्छ ।’ , यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्