Logo
Logo

गोपनीयतामाथि धावा


दृष्टि संवाददाता


काठमाडौैं । इजरायलको एक कम्पनीले बनाएको मोबाइल फोन जासुसी गर्ने सफ्टवेयर पेगाससको एकदमै दुष्ट प्रयोजनका निम्ति भइरहेको प्रयोगका कारण यतिखेर सम्पूर्ण विश्व आतंकित छ । यो सफ्टवेयरले प्रयोगकर्तालाई थाहै नहुने गरी निजको फोनमार्फत सम्पूर्ण सूचना तथा गतिविधि संकलन गर्ने बताइएको छ ।

निसानामा राखिएका व्यक्तिको फोनमा अनधिकृत रूपमा प्रवेश गराइने ‘स्पाइवेयर’ ले मोबाइलका फाइलसहित माइक र क्यामरामा समेत पहुँच राख्ने जनाइएको छ । नागरिकका हात–हातमा स्मार्टफोन भएको यो युगमा प्रविधिको यसरी चरम दुरुपयोग हुनु मात्रै पनि जगत् त्रस्त हुन पर्याप्त छ । तर कुरा यतिमै सीमित हुँदैन ।

विश्वका कतिपय सरकारहरू नै लोकतन्त्रद्रोही यो सफ्टवेयरको ग्राहक बनेको खुलासा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन्, जसलाई पेगासस विकसित गर्ने कम्पनी एनएसओले पनि पुष्टि गरेको छ ।

विभिन्न देशका १७ सञ्चार माध्यमले यो मामिलामा यसअघि ‘लिक’ भएका ५० हजार फोन नम्बर अध्ययन गर्दा चार दर्जनभन्दा बढी देशका हजारभन्दा बढी व्यक्तिमाथि निगरानी भइरहेको पहिचान गरेका छन् । यसमा हामीले प्रत्यक्ष चिन्ता गर्नुपर्ने कारण पनि छ— भारतका लागि नेपाली राजदूतको नाम पनि यो सूचीमा छ । भारतका राजनीतिकर्मी, संवैधानिक आयोगका पदाधिकारी, कूटनीतिज्ञ, पत्रकार, अधिकारकर्मीलगायत चीन, पाकिस्तान, साउदी अरब, इरान र नेपालका नयाँदिल्लीस्थित राजदूतको पनि यो सफट्वेयरमार्फत जासुसी भइरहेको जनाइएको छ । यसबारे नेपाल सरकारले चासो देखाउन जरुरी छ ।

अनधिकृत तवरबाट विदेशी कूटनीतिज्ञको फोन यसरी जासुसी गर्नु गम्भीर अपराध हो । त्यसैले छिमेकी मुलुकस्थित आफ्नो दूतको मोबाइल फोनको निगरानी कसले, किन र कुन प्रयोजनका निम्ति गरिरहेको छ भन्ने जानकारी राख्नुपर्छ । र, संवेदनशील अधिकारीहरू साइबर–सुरक्षाप्रति सचेत रहनुपर्छ, सरकारले नै यसमा संवेदनशीलता देखाउनुपर्छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्