Logo
Logo

भारतीय तरकारी विषादी परीक्षणबिनै भान्सामा पुग्ने


दृष्टि संवाददाता



काठमाडौँ । काठमाडौं उपत्यकामा खपत हुने तरकारी ४५ प्रतिशत र फलफूल ७५ प्रतिशत भारतबाट आउने गरे पनि विषादी परीक्षणबिनै भान्सामा पुग्ने गरेको छ । दुई वर्षअघि सुरु गरिएको विषादी परीक्षण भारतको दबाबपछि तत्कालै रोकिएको हो, अहिलेसम्म सुरु गरिएको छैन ।

विषादी परीक्षण र नियमनबारे सरकारी निकाय अनभिज्ञजस्तै छन् । ‘अहिले तरकारीमा आरडीटी परीक्षण मात्रै हुन्छ । त्यो भनेको कलर मात्रै हेर्ने हो, खासमा त त्यो परीक्षण नै होइन,’ केन्द्रीय कृषि प्रयोगशाला प्रमुख सावित्री बरालले भनिन्, ‘आरडीटीबाट विषादीको उपस्थिति छरछैन मात्रै थाहा हुन्छ । त्यो पनि कार्बामेट र अर्गानोफोस्फेटको मात्रै । यी दुई विषादीको अवशेष मात्रा पनि यकिन हुँदैन ।’

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार मुलुकभित्र २९ समूहका विषादी प्रयोग भएको पाइन्छ । फलफूल तथा तरकारीमा दर्जनजति समूहका विषादी प्रयोग भइरहेको छ । तर केन्द्रीय कृषि प्रयोगशालाबाट कार्बामेट र अर्गानोफोस्फेटको मात्रै परीक्षण हुन्छ । ‘तरकारी तथा फलफूल आयात गर्ने व्यवसायी स्वयंले नमुना लिएर आउँछन् ।

प्रक्रिया कसरी अघि बढिरहेको छ, त्यो थाहा हुँदैन । त्यसपश्चात् भन्सार विभागलाई रिपोर्ट दिइन्छ, भन्सारले रिपोर्ट पाएपछि खुरुखुरु पठाउँछन्,’ प्रमुख बरालले भनिन्, ‘परीक्षणपछि खान मिल्नेरनमिल्ने, डम्प गर्नुपर्नेरनष्ट गर्नुपर्ने तरकारी पनि आएको हुन सक्छ ।’

बरालका अनुसार केन्द्रीय प्रयोगशालाको बुटवल, नेपालगन्ज, अत्तरिया, झापा, पोखरा, सर्लाही र कालीमाटी शाखामा आरबीपीआर परीक्षण गर्न सकिन्छ । तर कर्मचारी अभावका कारण पोखराबाट हुन सकेको छैन । ‘गत असार मसान्तसम्म ७९ हजार ५ सय ७३ नमुनाको कार्बामेट र अर्गानोफोस्फेट परीक्षण भएका छन् ।

जसमध्ये २७ नमुनालाई रातो (उपभोग गर्न नमिल्ने) र ५५ नमुनालाई पहेंलो (तत्काल उपभोग गर्न नमिल्ने) चिह्न तोकिएको थियो,’ उनले भनिन्, ‘तर ती दुई विषादीबाहेक अन्यको परीक्षण हुन सकेन । परीक्षण नाम मात्रकै भए, परीक्षण गर्ने निकाय लाचार छन् ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्