Logo
Logo

सिटिजन्स बैंकको अगुवाइमा ७ वाणिज्य बैंक गर्ने भए मेवाखोला जलविद्युतमा लगानी


दृष्टि संवाददाता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा विभिन्न ७ बैंकहरुले ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजना निमार्णको लागि लगानी जुटाउने भएका छन् । उक्त आयोजनामा ७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गर्ने जनाइएको छ ।

सिटिजन्स बैंकको अगुवाइमा कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र सिभिल बैंकसहित ७ बैंकहरुले ६ अर्ब ७५ करोड रुपैयाँ आवधिक कर्जा र २५ करोड चालु पुँजी कर्जा गरी कूल ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । जसको लागि प्रवद्र्धक कम्पनी एवं बैंकहरुबीच २०७८ साउन ७ गते बिहीबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ ।

मेवाखोला जलविद्युत आयोजना प्रदेश नं १ को ताप्लेजुङ जिल्ला साविक थुकिमा, लिङतेप एवं खाम्लुङ गाविस (हालको मेरिङदेन गाउँपालिका)मा निर्माण हुन लागेको हो । जुन युनाइटेड मेवाखोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको छ ।

परियोजनाको अनुमानित लागत करिब ९ अर्ब रुपैयाँमा बैंकहरुले ७५ः२५ को ऋणः स्वपूँजी अनुपातमा ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंकबाट १ अर्ब ४५ करोड रुपैयाँ, कुमारी बैंकबाट १ अर्ब रुपैयाँ, मेगा बैंक नेपालबाट १ अर्ब रुपैयाँ, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट १ अर्ब रुपैयाँ, नेपाल एसबिआईबाट ८० करोड रुपैयाँ, सिद्धार्थ बैंकबाट १ अर्ब रुपैयाँ र सिभिल बैंकबाट ५० करोड रुपैयाँ लगानी हुनेछ । त्यस्तै, २५ प्रतिशत स्वपूँजी प्रवद्र्धकहरुबाट जुटाइने कमपनीले जनाएको छ ।

आयोजनाको निर्माण आगामी तीन वर्षभित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी गराइएको छ । निर्माण सम्पन्नपश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोरअन्तर्गतको ढुंगेसाँघुस्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र वर्खामा २०५.५८७ गिगावाट गरी बार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्