Logo
Logo

सइ बढुवा विवादमाः महरादेखि देउवाका पिएसम्मले बाजी मारे


दृष्टि संवाददाता



काठमाडौं ।
करिब ६ महिनाको अन्योलतापछि नेपाल प्रहरीमा सइबाट इन्सपेक्टरमा भएको बढुवा सिफारिस विवादमा परेको छ । एकातर्फ प्रहरी नियमावलीमै नभएको प्रावधान प्रयोग गरी बढुवा गरिएको छ र अर्काेतर्फ बढुवामा नेताको पिएसओ र विवादास्पद अधिकृतहरु परेका छन् ।


प्रधानमन्त्री शेरबहादुर देउवाका पिएसओ हिमालय बिक्रम शाह, पूर्व सभामुख कृष्णबहादुर महराका पिएसओ डबल बहादुर बम लगायत बढुवामा परेका छन् । उनीहरु २०६३ सालमा सइ भएपनि पावरकै आधारमा बढुवामा परेका छन् । संगठनका लागि भन्दा उनीहरु पार्टीका लागि काम गर्ने अधिकृतका रुपमा चिनिन्छन् । त्यस्तै अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईको सिफारिसमा प्रतिमा राई पनि बढुवा भएकी छिन् ।


९८ जना बढुवा हुँदा २०६१, २०६२ र २०६३ सालका सइहरु परेका छन् । जसमा केही विवादास्पदहरु अटाएका छन् भने केही राम्रा अधिकृत छुटेका छन् ।


अर्काेतर्फ रिक्त नै नभएको पदमा बढुवा गरिएको छ । २०७९ को असारसम्म रिक्त हुने पदको हिसाब गरेर इन्सपेक्टर बढुवा गरिएको छ । जून प्रहरी नियमावलीमा छैन । यसले १७ वर्षदेखि एउटै पदमा कार्यरत सइलाई न्याय हुने भएपनि कानुनी रुपमा भने प्रश्न उठेको छ ।


अर्काेतर्फ बढुवाप्रति राष्ट्रिय मानव अधिकार आयोगले पनि प्रहरी महानिरीक्षकलाई कारबाहीको तयारी थालेको छ । आयोगले ज्यान मुद्दा चलाउन सिफारिस गरिएका सई दीपेन्द्र चन्दलाई बढुवा गरिएको छ । चन्द लगायत प्रहरीले इन्काउन्टरको नाममा भक्तपुरमा दुई युवकलाई पक्राउ गरेर मारेको भन्दै आयोगले मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको सिफारिस नमान्ने अधिकारीलाई कालोसूचीमा रहने र विश्वभरी यात्रा प्रतिबन्ध लाग्ने जोखिम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्