Logo
Logo
दुर्घटना न्यूनीकरणको प्रयास

सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर लगाइयो


हिक्मत बम



धनगढी । छाडारुपमा छोडिएका चौपायाले सडक दुर्घटना बढ्दै गएको भन्दै ट्राफिक प्रहरले दुर्घटना न्यूनीकरण गर्ने प्रयास गरेको छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा सडक दुर्घटनाहरु बढ्दै गएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले दुर्घटना न्यूनीकरण गर्ने प्रयास गरेको हो ।

जिल्लाका मुख्य सडकहरुमा छाडारुपमा छोडिएका पशु चौपायाको घाँटीमा टल्कने स्टिकर टाँसेर दुर्घटना न्यूनीकरण गर्ने प्रयास गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक बीरेन्द्रबहादुर बोहराले बताए ।

छाडा पशु चौपायाबाट हुने दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाको धनगढी-अत्तरिया छ लेन सडकखण्डमा छाडारुपमा छोडिएका चौपायाको घाँटीमा टल्कने स्टिकर (रिफ्लेक्टिब स्टिकर बेल्ट) लगाउन थालिएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए । उनले भने, जिल्लामा पछिल्लो समय सडक दुर्घटनाहरु छ लेन सडकखण्ड र पुर्व-पश्चिम राजमार्गमा छोडिएका चौपायाका कारण बढ्दै गएको छ ।

उनले रातिको समयमा छाडा रुपमा छोडिएका चौपायाहरुको बास स्थान सडक क्षेत्र भएकाले सडक दुर्घटनाहरु बढ्दै गएको बताए । उनले भने- चौपायाहरुको बास स्थान सडक भएकाले रातिको समयमा सडक दुर्छटनाहरु बढ्दै गएको देखिएका ती चौपायाहरुको घाँटीमा टल्कने स्टिकर टासिएको हो । यसले केहि हदसम्म सडक दुर्घटना नियन्त्रण गर्ने ट्राफिक कार्यालयले विश्वास लिएको छ ।

उनले कैलाली यातायात प्रालिको सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाडा पशु चौपायामा रिफ्लेक्टिब स्टिकर बेल्ट लगाउन थालिएको बताए ।

शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बीरेन्द्रबहादुर बोहरासहितको टोलीले धनगढीका सडकमा छोडिएका चौपायामा रिफ्लेक्टिब स्टिकर बेल्ट लगाएको हुन् ।

मोहना-अत्तरिया छ लेन सडकखण्ड तथा बजार क्षेत्रमा छोडिएका छाडा चौपायामा टल्कने स्टिकर लगाइएको हो । रातको समयमा चौपायाहरु सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेको थियो । रातिको समयमा हुने सडक दुर्घटना न्युनीकरणका लागि सवारी चालकले सहजै छाडा चौपायालाई देखुन भन्ने उद्देश्यले चौपायाहरुलाई रिफ्लेक्टिब स्टिकर बेल्ट लगाएको हो ।

अन्य स्थानको तुलनामा मोहना–अत्तरिया छ लेन सडकखण्ड तथा मुख्य बजार क्षेत्रमा छाडा छोडिएका चौपायाको संख्या धेरै भएको हुँदा सो क्षेत्रमा यो अभियान शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्