Logo
Logo

चीनले लगायो अमेरिकाको पूर्ववाणिज्य मन्त्रीमाथि प्रतिबन्ध


दृष्टि संवाददाता


काठमाडौं । चीनले कैयौं अमेरिकी नागरिक र संस्थाहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाइएको जवाफमा चीनले यस्तो निर्ण गरेको हो ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार चीनको उक्त सूचीमा पूर्वअमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि रहेको बताइएको छ । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङको उक्त निर्णय सार्वजनिक भएको हो ।

हङकङमा गरिएका सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँस्थित चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो । वाशिङ्टनले आफ्नो व्यापारिक समुदायलाई हङकङमा काम गर्दा जोखिम बढिरहेको पनि चेतावनी दिएको छ ।

अघिल्लो वर्ष भएका ठूला प्रदर्शनहरूपछि चीनले हङकङमा नयाँ सुरक्षा कानुन कार्यान्वयनमा ल्याएको थियो । त्यसले देशको विभाजन, देश द्रोह र विदेशी शक्तिहरूसँग गठ जोड गर्नेविरुद्ध आजीवन कारावास अधिकतम सजाय तोकेको छ ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयले हालै अमेरिकाले ‘हङकङको व्यावसायिक वातावरण धमिल्याउने गरी औचित्यहीन’ प्रतिबन्ध घोषणा गरेको भन्दै त्यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको चरम उल्लंघन गरेको जनाएको छ । उसले पूर्वमन्त्री रससहित अमेरिकाका सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाइने पनि जनाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको वाणिज्य मन्त्रीका हैसियतमा रसले पूर्वअनुमति नलिइ अमेरिकी र्फमहरूसँग कारोबार गर्न पाउने चिनियाँ र्फमहरूको संख्या विस्तार गरेका थिए । त्यसबाट हृवावेई र जेडटीईजस्ता अग्रणी चिनियाँ प्रविधि कम्पनी प्रभावित भएका थिए ।

चीनको प्रतिबन्धमा पर्नेमा हृयुमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस—चाइना इकोनोमिक एण्ड सेक्युरिटि रिभ्यू कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरन्याश्नल रिपब्लिकन इन्स्टिच्यूटका एडम किङसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्