Logo
Logo

निर्मला हत्याका तीन वर्षः दोषी अझै पत्ता लागेन !


दृष्टि संवाददाता


काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार (आज) तीन वर्ष पुगेको छ । नेपालमा हालसम्मकै धेरै छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यमय नै छ ।

घटनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको बताउँछन् ।

‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन।’ अकाट्य प्रमाण र घटनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको उनले बताए। आफूहरूले हत्यारा पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेको र दोषी पत्ता लाग्ने उनको भनाइ छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले निर्मला हत्या अनुसन्धानको दायरा साँघुरिएको बताएका छन् । ‘हत्यारा पत्ता लागेको भए त सार्वजनिक गरिहाल्थ्यौं,’ उनले भने, ‘तर अनुसन्धान साँघुरिएर हामी धेरै नजिक पुगेका छौं, यकिन भएको छैन।’ अनुसन्धानका सबै संयन्त्र क्रियाशील भएको उनको भनाई छ ।

आजको नागरिक दैनिक लेख्छ, निर्मलाको हत्यारा पत्ता लगाउन सबैभन्दा बढी प्रहरीका अनुसन्धान टोली सुदूरपश्चिममा सक्रिय भए । एकपछि अर्को गर्दै तीन वर्षसम्म निरन्तर प्रहरीका अनुसन्धान टोली खटिएका छन् ।

अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन् । कञ्चनपुर प्रहरी कार्यालयका प्रवक्ता न्यौपानेले डिएसपीको नेतृत्वमा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको टोली, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले अलअलग अनुसन्धान गरिरहेको बताए । सबै कोणबाट अनुसन्धान भइरहेको उनले बताए।

निर्मला हत्यामा अहिलेसम्म एक हजारभन्दा बढी मानिसलाई सोधपुछ गरिएको उनको भनाइ छ। ‘६ सयजनालाई त लिखित कागजात बनाएरै सोधपुछ गरिएको छ,’ उनले भने, ‘यसैगरी करिब एक सयजनाको डिएनए परीक्षण भएको छ।’

प्रतिक्रिया दिनुहोस्