तामाकोसीको तेस्रो युनिटबाट विद्युत् उत्पादन सुरु « Drishti News – Nepalese News Portal
Logo

तामाकोसीको तेस्रो युनिटबाट विद्युत् उत्पादन सुरु


दृष्टि संवाददाता



काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ । असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट शुक्रबार रातिदेखि तेस्रो युनिट सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका कार्यकारी निर्देशक विज्ञान श्रेष्ठका अनुसार माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छवटा टर्वाइन जोडिएका छन् । पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल भएपछि तेस्रो युनिट पनि सञ्चालनमा ल्याइएको हो ।

यससँगै ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । साउनभित्रै चौथो युनिट पनि सञ्चालन गर्ने र भदौभरमा बाँकी दुई युनिट पनि सञ्चालन गरी अयोजना पूर्ण क्षमतामा चलाउने योजना बनाइएको छ । साउनभित्रै ३०४ मेगावाट विद्युत् उत्पादन थालिनेछ ।

विद्युत् उत्पादनका लागि विद्युत् गृहमा जडित छमध्ये चारवटा युनिट साउनभित्रै सञ्चालन गरिने आयोजनाले जनाएको छ । परीक्षणका लागि प्राविधिकहरूले काम गरिरहेको र क्रमिक रूपमा टर्वाइनहरू परीक्षण गर्दै जाने उनले बताए । श्रेष्ठका अनुसार सबै परीक्षण सकेर व्यावसायिक उत्पादनमा जाने मिति पनि तय भएको छ ।

पहिलो चार युनिटबाट यसै महिना ३०४ मेगावाट विद्युत्को व्यावसायिक उत्पादन हुनेछ भने बाँकी दुईसमेत गरी सबै युनिटबाट व्यावसायिक उत्पादन गर्न अर्को एक महिना लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्