Logo
Logo

निर्मला प्रकरणबाट के पाठ सिक्यो नेपाल प्रहरीले ?


दृष्टि संवाददाता



काठमाडौं । आज साउन १० गते, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दिन । तीन वर्ष बित्दा पनि प्रहरीले यो घटना सुल्झाउन सकेको छैन ।


यो घटनाको अनुसन्धानमा असफलताले प्रहरीमाथिकै विश्वास संकटमा प¥र्याे । त्यसपछि प्रहरीले अनुसन्धान प्रणालीमा केही सुधार त गरेको छ, तर धेरै विश्वास भने प्राप्त गर्न सकेको छैन ।


यो घटनाले प्रहरी अनुसन्धान प्रणालीमाथि गम्भीर अविश्वास जन्मायो । प्रहरीले हचुवाको भरमा अनुसन्धान गर्छ भन्ने सन्देश गयो । सोही घटनाका कारण प्रहरीप्रति बढेको अविश्वास अझै कम भएको छैन । कुनै घटना भयो कि प्रहरीमाथि अविश्वास व्यक्त गरी दबाब दिने गरिएको छ ।


यो प्रकरणपछि अनुसन्धान प्रणालीमा केही सुधार आए पनि अपराध अनुसन्धानमा लगानी भने बढ्न सकेको छैन । ‘मुख्य कुरा नागरिक र प्रहरीबीचको दूरी यो घटनाले बढायो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘त्यसलाई पूर्ति गर्न प्रहरीले धेरै दुःख गर्नुपर्ने हुन्छ ।’ सो घटनामा नागरिकबाट सर्वसाधारणले सहयोग नै नपाएको प्रहरी अधिकारीहरू बताउँछन् । कतिपय घटनामा सर्वसाधारणको सहयोगविना सूचना नै प्राप्त नहुने प्रहरी अधिकारी बताउँछन् ।

अर्काेतर्फ प्रहरी अनुसन्धान मोबाइलमा मात्र केन्द्रित हुने गरेको छ । तर, यो घटनामा पीडितसँग मोबाइल थिएन । अभियुक्तले पनि मोबाइल नबोक्ने भएको हुन सक्ने प्रहरी आशंका छ । प्रहरीको मानवीय सूचना संयन्त्र कमजोर भएको यो घटनाबाट प्रस्ट हुन्छ । सूचना संयन्त्र बढाउन अझै कुनै योजना बनेको छैन ।

यो घटनापछि कुनै पनि अपराधको अनुसन्धानमा भने प्रहरीको गम्भीरता बढेको र लापरवाही घटेको छ । निर्मला हराएलगत्तै उनको परिवारले खबर गर्दा पनि प्रहरीले खोजीका लागि चासो दिएको थिएन भने भोलिपल्ट घटनास्थलको सुरक्षासमेत गर्न नसक्दा प्रहरी विवादमा प¥यो । सो घटनापछि खासगरी महिला पीडित भएका घटनामा प्रहरीले विशेष चासो दिने गरेको छ । चितवनकी सुजिता भण्डारी प्रकरणमा पनि सुरुमा प्रहरीमाथि स्थानीयले विश्वास नगरेकोमा पछि विश्वासमा लिएर अनुसन्धान गरेको थियो । अर्काेतर्फ, अभियुक्तले आरोप स्वीकार गरेलगत्तै सार्वजनिक गर्ने प्रवृत्ति पनि कम भयो ।

अनुसन्धानमा तालिम र प्रविधिमाथि लगानी बढ्न नसकेको प्रहरी अधिकारी बताउँछन् । ‘यदि त्यो सडकखण्डमा सिसिक्यामेरा थियो भने अनुसन्धान गर्न धेरै सहज हुन्थ्यो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘सिसिक्यामेराको संख्या बढेको, तर ज्यादै न्यून छ ।’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवर निर्मला पन्तको घटनाबाट प्रहरीले अपराध अनुसन्धानमा पाठ सिकेको स्विकार्छन् । ‘यस्ता घटनाको अनुसन्धानमा प्रहरीको सतर्कता बढेको छ,’ उनले भने ।

त्यस्तै, यो प्रकरणमा प्रहरीले आफ्नै प्रहरीविरुद्धसमेत हचुवाको भरमा मुद्दा चलायो । एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्ट, डिएसपी ज्ञानबहादुर सेठी, डिएसपी अंगुर जिसी, इन्स्पेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा दायर भएको थियो । उनीहरूमध्ये एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्स्पेक्टर खड्कालाई भने दिलीपसिंह विष्टलाई यातना दिएर अपराध कबोल गर्न लगाइएकोमा यातनासम्बन्धी मुद्दासमेत चलाइयो । दुवै मुद्दामा उनीहरूले सफाइ पाएका छन् ।

अझ एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई सेवाबाटै हटाउने निर्णयसमेत भएको थियो । पछि सरकारले ‘गल्ती महसुस’ गरी आफ्नै पुरानो निर्णय उल्टाएर उनीहरूलाई सेवामै फर्काउने निर्णय गरिसकेको छ । प्रहरीले नियोजित रूपमा अनुसन्धानमा लापरवाही गरेको कुनै तथ्य नहुँदा पनि भीडको दबाबको भरमा तत्कालीन प्रहरी नेतृत्वले मुद्दा चलाउने निर्णय गरेको थियो । जसले अनुसन्धानमा खटिँदै आएका प्रहरीको मनोबल गिराएको थियो ।

पूर्वएआइजी पुष्कर कार्की यो घटनामा प्रहरी असफल हुनुको चार कारण देख्छन् । नागरिकको अविश्वास, अनुसन्धानमा नियमनको कमी, प्रहरीमाथि हचुवाको भरमा मुद्दा र घटनाको राजनीतिकरणले यो घटनामा प्रहरी असफल भएको उनको भनाइ छ । सुरुमा प्रहरीले पीडित पक्षलाई विश्वासमा लिन नसक्दा नै यो घटना ठूलो बनेको उनी बताउँछन् । ‘धेरै घटनामा परिस्थितिजन्य प्रमाण नै पर्याप्त हुन्छन्,’ उनी भन्छन्, ‘तर, यसमा अब सर्वसाधारणले परिस्थितिजन्य प्रमाणले मान्ने अवस्था छैन, डिएनए परीक्षणमा त्रुटि भइसकेको कुरा आएको छ, त्यही कारण अहिले समस्या भएको हो । त्यतिवेला सुरुदेखि प्रहरी नेतृत्व नै राम्रोसँग नियमन र निर्देशन हुन नसकेको उनको बुझाइ छ ।

त्यस्तै, हचुवाको भरमा आफ्नै प्रहरीलाई मुद्दा चलाएका कारण प्रहरीको मनोबल खस्किएको उनी बताउँछन् । ‘दबाबको भरमा प्रहरीलाई नै पीडित बनाइयो,’ उनी भन्छन्, ‘पछि अदालतले उनीहरूको गल्ती छैन भन्यो ।’ यो प्रकरणलाई बढी राजनीतिकरण गर्दा पनि अनुसन्धान प्रभावित भएको कार्कीको ठम्याइ छ ।


अपराध अनुसन्धानमा प्रहरीको मनोबल उकास्ने र प्रहरीप्रति सर्वसाधरणको विश्वास बढाएपछि मात्र प्रहरी यस्ता विवादबाट मुक्त हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्