Logo
Logo
जसपा विवाद

निर्वाचन आयोगमा आज जसपा सदस्यको ‘हेड काउन्ट’

आयोगमा जानुअघि यादव र ठाकुर पक्षका नेताहरूको बेग्लाबेग्लै छलफल


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुबै पक्षलाई आज निर्वाचन आयोगले बोलाएको छ । जसपाभित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई आयोगमा बोलाएको हो ।

आयोगलेअ ध्यक्षद्वय महन्थ उपेन्द्र यादव र महन्थ ठाकुरसहित केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई बोलाएको हो । जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको छ ।

अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरूको भएको दाबी गर्दै आएका छन् । यता ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताउँदै आएका छन् ।

दुबै पक्षले यस्तो दाबी गरेपछि जसपा आधिकारिकतामा विवाद बढेको हो। निर्वाचन आयोगले जसपा आधिकारिकताबारे विवाद भएपछि सुनुवाइ गरिरहेको छ । साउन ११ का लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि आयोगले बोलाएको हो ।

अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट समेत दिएका थिए । आइतबार सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश भने दिएन ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको हो । आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ ।

आयोगमा जानुअगाडि अध्यक्षद्वय ठाकुर र यादव पक्षका नेताहरू बेग्लाबेग्लै छलफलमा जुटेका छन् । आयोगले जता बहुमतको आधारमा जसपा दिने र अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिने बुझिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ । आयोगले यसअघि पनि दुबै पक्षलाई छलफलमा पनि बोलाएको थियो । आयोगले आज केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने ‘हेडकाउन्ट’ गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्