Logo
Logo

प्रचण्डलाई बिच्काउँदाको परिणाम


शम्भु श्रेष्ठ


मिति बिर्सिए । करिब तीन वर्ष अगाडिको कुरा हो । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि केपी शर्मा ओली दुईतिहाइ मतसहित प्रधानमन्त्री बने । लगत्तै उनी दलबलसहित युरोप भ्रमणमा निस्किए ।

त्यही बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा थिए । भारत भ्रमणकै क्रममा भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै प्रचण्डले ‘पावर सेयरिङ’को कुरा गरेका थिए । लगत्तै प्रधानमन्त्री ओली स्वदेश फर्किए । त्यस क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नमा ओलीले ‘म नै पाँच वर्षका लागि प्रधानमन्त्री हुँ ।’ पावर सेयरिङका विषयमा मलाई थाहा छैन भने ।

प्रचण्डले नयाँदिल्लीमा दिएको प्रतिक्रिया र प्रधानमन्त्री ओलीले काठमाडौं ओर्लिएर दिएको जवाफ उल्टो थियो । ओली युरोपबाट फर्किएपछि ओलीलाई भेट्न प्रचण्ड बालुवाटार गए । एक घण्टा ओलीले युरोप भ्रमणका बारेमा कथा सुनाए । प्रचण्डले पनि आनन्द मानेर ओलीका मिठा गफ सुन्दै गए । उठ्ने बेला ओलीले– ‘म विदेश भएको बेला तपाईँले दिल्लीमा ‘पावर सेयरिङ’को कुरा नगरेको भए हुन्थ्यो, बोलिहाल्नु भएछ, म अप्ठेरोमा परे । हामीबीच पार्टी एकता गर्दा जे सहमति भएको हो, त्यसप्रति मलाई विश्वास गर्नुस् भने ।’

अनि, प्रचण्डले जवाफ फर्काए, ओली कमरेड, मैले झुठो कुरा त गरेको होइन नि, आधा–आधा कार्यकाल ‘पावर सेयरिङ’ गर्ने कुरा त लिखित नै छ नि । बरु तपाईंले पाँचै वर्ष प्रधानमन्त्री भनेर एयरपोर्टमा जुन कुरा गर्नुभयो, त्यसले मलाई झस्काएको छ । सहमति त आधा–आधा कार्यकालकै हो नि । त्यो त मैले नयाँदिल्लीमा मात्र होइन, काठमाडौंमै पनि बोलेको छु नि, भने । प्रचण्डको जवाफ सुनेर ओली मुसुक्क हाँसे ।

प्रधानमन्त्री भएपछि ओलीलाई प्रचण्डलाई दायाँ र माधवलाई बायाँ राखेर हिँड्न सक्नु भएन भने ‘ब्यालेन्स बिग्रन्छ’, तपाईं बीचमै ढल्नुहुन्छ भनेको थिए । तर, ओलीले त्यो सुझाव मानेनन् । आज त्यसैको परिणाम भोग्दैछन् ।

त्यसपछि ओलीले हल्का जवाफ दिए– ‘बोल्न त बोलिहाल्नुभयो । अब नबोल्नु होला । त्यसले आम जनतामा राम्रो सन्देश जाँदैन । दुई पार्टी मिलेर निर्वाचनमा गएपछि इतिहासमै पहिलोपटक यति ठूलो उपलब्धि हासिल भएको छ । यो उपलब्धिलाई जोगाउँदै थप उपलब्धि हासिल गर्नुपर्छ । पार्टी एकता गर्दा जे सहमति भएको हो, त्यसमा म पूर्णरुपमा प्रतिबद्ध छु । शंका नगर्नु होला, सहमति भएका कुरालाई मैले पालना गर्छु । ढुक्क हुनोस् ।’ ओलीले यति भनेपछि प्रचण्ड दंग परेर फर्किए ।

यो विषयलाई मिडियाले उछालेपछि म ओलीलाई भेट्न बालुवाटार पुगे । बिहान ११ बजे ओलीकै माथिल्लो तलामा यही प्रसंगमा एक घण्टा कुराकानी गरे । मैले भने– नेपाल कम्युनिष्ट पार्टीलाई जनताले दुईतिहाइ मत दिएको कुरा देशी विदेशी प्रतिक्रियावादीहरुलाई मन परेको छैन ।

बाध्यताले तपाईंलाई शुभकामना दिए पनि जुन दिन तपाईं दुईतिहाइको प्रधानमन्त्री बन्नुभयो, त्यही दिनदेखि यो सरकार ढाल्ने षड्यन्त्र भइसक्यो । दुईतिहाइ आयो भनेर ढुक्क नहुनोस् । यो उपलब्धि रक्षा गर्न तपाईंलाई प्रचण्डको साथ चाहिन्छ । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा पनि तपाईंले प्रचण्डलाई चिढ्याएर हट्नुपर्यो । त्यतिबेला संसद्मा तपाईंलाई प्रचण्डले के–के भनेका थिए, सम्झनुस् ।

तर पनि विगतका तीता मिठा कुरा बिर्सिएर ढिलो चाँडो माओवादीसँग पार्टी एकता गर्नुभयो, त्यो राम्रो कुरा हो । तर, यसैगरी प्रचण्डलाई जिस्क्याउने हो भने यो एकता बीचमै टुंगिन्छ । अर्को कुरा प्रचण्डलाई साथमा लिँदा माधव नेपाललाई चिढ्याउने काम पनि नगर्नु होला । प्रचण्डलाई दायाँ, माधवलाई बायाँ राखेर हिँड्न सक्नु भएन भने ‘ब्यालेन्स बिग्रन्छ’, तपाईं बीचमै ढल्नुहुन्छ । त्यतिबेला तपाईंलाई उठाउने कोही हुँदैनन् ।

मेरो कुरा गम्भीरताका साथ सुनेका ओलीले बीचमै रोकेर भने– तल माधव नेपाल आउनु भएको छ । उनलाई कुराउनु हुन्न । हाम्रो कुरा टुंग्याऊँ । कुरा टुंगिसकेको थियो । माधव नेपाल लिफ्टबाट उक्लँदै थिए । बिदा हुने बेला ओलीले भने– दृष्टिमा ‘पावर सेयरिङ’को कुरा नलेख्नु नि ।

आखिर ओलीलाई मैले जे सुझाव दिएको थिएँ, त्यो सुझाव नमान्दा ओली घर न घाटका भए । प्रचण्डले आधा–आधा कार्यकाल छाडेर पाँचै वर्ष ओलीलाई प्रधानमन्त्री बन्ने सहमति गरेकै थिए । ओली र प्रचण्डबीच समन्वय गर्न स्थायी कमिटीले सुझाव दिएकै थियो । प्रचण्डले अध्यक्षका नाताले पार्टी एकताको बाँकी काम टुंग्याउँदै जाने, प्रधानमन्त्री ओलीले निर्वाचनको घोषणापत्रअनुसार ‘गफमुखी’ होइन परिणाममुखी काम गर्ने भनेर सहमति भएकै थियो । त्यो सहमति टिकाउन नसक्नु ओलीको ठूलो कमजोरी हो ।

अब ओलीका लागि दुईतिहाइ त के, एकतिहाइ मत पनि जनताले दिने छैनन् । किनभने, कम्युनिष्ट आन्दोलनमाथि यति ठूलो धोका केशरजंग रायमाझीले पनि दिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्