महेन्द्रनगर । शिरमा ढाका टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदूरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज उपाध्याय मङ्गलबार दिउँसो कञ्चनपुरको गड्डाचौकीमा भेटिए ।

कोरोना सङ्क्रमण बढ्दा दुई महिनाअघि मात्रै स्वदेश फर्किएका उपाध्यायको आर्थिक अवस्थाले पुनःभारत जाने बाध्यता आइलाग्यो । ‘घरमा आयआर्जन केही छैन्’, गड्डाचौकीबाट सीमावर्ती भारतीय बजार बनबासा जाँदै गरेका उपाध्यायले भने, ‘कोरोनाको डर मानी क्यार्नु, परानी कसरी पाल्नु घर बसी ?’
उनले परिवारका सदस्यको सहमतिमा कोरोना त्रासका बीच आफू रोजगारीका लागि भारत जान हिँडेको बताए । उनले भने, ‘घरमा जीविका चलाउन गाह्रो भएपछि परिवारका सदस्यले नै यहाँ बसेर कसरी खर्च चल्छ भने, हामीलाई त कोरोना भन्दा भोकले मर्ने स्थिति आइलाग्यो ।’ उपाध्यायसित देहरादुन जान हिँडेका गाउँका अन्य तीन युवा समेतसँगै थिए ।
त्यसैगरी कक्षा ८ मा अध्ययनरत १५ वर्षीय छोरा उपेन्द्र बटालासहित ३६ वर्षीया गर्वा बटाला पनि भारतको सिमला जाँदै थिए । ‘कोरोनाले स्कुल बन्द भएपछि दुई÷चार महीनाको कमाइले घरखर्च त चल्ला भनेर दुई छोरी छाडेर सिमला जाँदैछु’, यहाँको बेदकोट नगरपालिका–३ दैजीका बटालाले रासससित भने, ‘श्रीमान् नौ वर्षअघि बित्नुभयो, छोराछोरीको छाक टार्न भारत जानु नियती नै हो ।’ बटालाले गाउँका मान्छेसितको साथमा सिमला जान लागेको बताए ।
‘सिमलामा पनि सजिलो काम छ भनेर गाउँलेले बोलाएपछि त्यहाँ जान हिँडेका हौंँ’, उनले भने, ‘कोरोनाको डर मानेर के गर्नु, खान त चाहियो नी ।’ उनले आफूसित दैजीमा घरबासका लागि आधा कठ्ठा जग्गा मात्रै भएको बताए । दैजीको शारदा माविमा अध्ययनरत उपेन्द्रले परिवारको आर्थिक समस्याले आफू पनि भारत जान लागेको बताए ।
‘हाम्रो गाउँका धेरै विद्यार्थी अहिले स्कुल बन्द हुँदा भारत मजदूरीका लागि गइरहेका छन्’, उनले भने, ‘आमा यहाँ हुँदा अरुको घर, इँटाभट्टामा काम गरेर छाकको जोहो गर्नुहुथ्यो ।’
गत चैतमा कोरोनाको दोस्रो लहरले भारत आक्रान्त भएपछि स्वदेश फर्किएका नेपाली पुनः रोजगारीका लागि भारत जान थालेका छन् ।
सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य सदियौंँदेखि भारत हो । चाडपर्व र खेतीबारीका बेला स्वदेश फर्किने तथा अरुबेला भारतमा रोजगारी गर्ने यहाँका स्थानीयवासीको परम्पराको रुपमा विकास हुँदै गएको थियो । पछिल्लो समय कोरोना कहरमा सुदूरपश्चिमका मात्रै करीब दुई लाख भन्दा बढी नागरिक स्वदेश फर्किएको तथ्याङ्क छ ।











