Logo

पुनर्बहाली माग गर्दै दुई सांसद सर्वोच्चमा


दृष्टि संवाददाता


काठमाडौं । पार्टी परिवर्तनपछि बर्खास्तीमा परेका लुम्बिनी प्रदेशका दुई सांसद सर्वोच्च अदालत पुगेका छन् । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि सांसद पदबाट हटाइएका प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । नेपालको संविधान र माओवादी केन्द्र संसदीय दलको विधानविपरीत आफूहरूलाइ प्रदेशसभा सदस्यबाट हटाइएको भन्दै उनीहरूले सर्वोच्चमा निवेदन दिएका हुन् ।

गत फागुनदेखि नै माओवादी केन्द्र छाडेर एमालेमा सक्रिय भएका पन्थी र न्यौपानेले अहिले भने आफूहरू माओवादीमै रहेको भन्दै सदस्य पद बचाइदिन सर्वोच्चमा अपिल गरेका हुन् । फागुन २३ मा सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्रलाई अस्तित्वमा ल्याइदिएपछि दुवैजना माओवादी छाडेर एमालेमा प्रवेश गरेका थिए । माओवादी छाडेर एमालेमा सक्रिय भएको भन्दै पार्टीले उनीहरूलाई कारबाही गरेको थियो ।

माओवादीको पत्रका आधारमा सभामुख पूर्णबहादुर घर्तीले दुवैजनालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरिदिएका हुन् । न्यौपाने रूपन्देही–१ ‘ख’ र पन्थी गुल्मी–१ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनीहरूले नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेशसभा सचिवालय, सभामुख र निर्वाचन आयोगलाइ विपक्षी बनाई निवेदन दिएका छन् । तत्कालीन अवस्थामा माओवादी केन्द्र र एमालेको संयुक्त घोषणापत्रका आधारमा निर्वाचन लडेको जिकिर गर्दै उनीहरूले विधि विधानविपरीत जनताका जनप्रतिनिधिलाई हटाउन नपाइने दाबी गर्दै सर्वोच्च पुगेका हुन्।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्