Logo
Logo

बाइडेनले भने- ‘खोप लगाउन आउनेलाई पैसा दिनू’

खोप लगाउन मान्दैनन् अमेरिकीहरू


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार देशका स्थानीय सरकारलाई खोप लगाउन आउनेहरूलाई पैसा दिन भनेका छन् ।

अमेरिकामा पछिल्लो समय कोरोनाभाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिइरहेको छ । संक्रमित भएर अस्पताल भर्ना हुनेमध्ये ९० प्रतिशत बढी खोप नलगाएकाहरू रहेको समाचारमा जनाइएको छ ।

सित्तैमा खोप दिँदा पनि अमेरिकीहरूले खोप नलगाएपछि राष्ट्रपति बाइडेनले प्रोत्साहनस्वरूप खोप लगाउनेलाई पैसा दिन भनेका हुन् । कतिपय राज्यले यसअघि नै खोप लगाउनेलाई विभिन्न पुरस्कार योजना ल्याएका थिए ।

प्रशस्त खोपको व्यवस्था भए पनि अमेरिकाको खोप कार्यक्रम अरू विकासशील मुलुकमा जस्तै सुस्त छ । अहिलेसम्म १६ करोड ३८ लाख मानिसहरूले मात्र खोप लगाएका छन् । अमेरिकाको जनसंख्या झन्डै ३३ करोड रहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

राष्ट्रपति बाइडेनले खोप लगाउने/नलगाउने कुरा व्यक्तिगत स्वतन्त्रता भए पनि खोप लगाउनु आफन्त र देशका निम्ति जिम्मेवारी भएको बताएका छन् ।

राष्ट्रपति बाइडेनले संघीय कर्मचारीहरूका लागि पनि खोपसम्बन्धी कडा नियम लागू गरेका छन् । अब अमेरिकाका संघीय कर्मचारीले कि आफूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ नत्र हप्तामै पटक/पटक कोरोना परीक्षण गर्नु पर्नेछ । खोप नलगाएका कर्मचारीलाई विदेश यात्रामा पनि रोक लगाइने छ ।

अमेरिकामा झन्डै २२ लाख संघीय कर्मचारी छन् । कर्मचारीहरूले नै खोप लगाउन आनाकानी गरेपछि राष्ट्रपति बाइडेनले यस्तो नियम ल्याएका हुन् ।

अमेरिकामा पछिल्लो समय दैनिक ८० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् । बिहीबारमात्रै त्यहाँ ९२ हजार मानिसमा संक्रमण पुष्टि भएको थियो भने झन्डै ४ सयले ज्यान गुमाएका थिए । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै मानवीय क्षति हुने मुलुक हो । अहिलेसम्म ६ लाख २८ हजार अमेरिकीको कोरोनाबाट मृत्यु भइसकेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्